नेपाल तस्करको अखडा बन्यो, सुन प्रकरणमा उच्चस्तरीय समिति आवश्यक : डा. कोइराला

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाललाई सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको आवश्यक औंल्याएका छन् ।
पार्टीको संसदीय दलको बैठकमा नेता कोइरालाले नेपाल सुन तस्करीको अखडा बनिसकेको बताउँदै त्यसबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समितिको आवश्यकता औंल्याएका हुन् । नेता कोइरालाले नेपाल भएर भारतमा सुन तस्करी भइरहेको दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गर्दै दुई सातादेखि संसद अवरुद्ध पारिरहेको बेला कोइरालाले पनि छानबिन समिति गठनको पक्षमा धारणा राखेका हुन् । तर सत्ता गठबन्धन र सरकारले भने छानबिन समिति बनाउन आवश्यक नरहेको बताउँदै आएका छन् ।
‘सुन तस्करीबारे हामी गम्भीर भएर सोच्नु आवश्यक छ । जो व्यक्ति प्रधानमन्त्रीको निजी सचिव थियो, उसलाई राजस्व अनुसन्धानको प्रमुख बनाएर सात दिनअघि पठाइन्छ, ऊ जाने बित्तिकै सुन समातिएको छ, त्यसपछि त्यसको अनुसन्धान गर्न सिआईबीलाई दिन आनाकानी गरिएको छ । के–के भइरहेको छ भन्ने हामी सबैलाई थाहै छ,’ उनले भने । उनले थपे, ‘नेपाल सुन तस्करीको अखडा पहिल्यै भइसकेको छ । यसलाई रोक्ने हो भने उच्चस्तरीय छानबिन समिति बनाएर यसको जरोसम्मै छानबिन हुनु आवश्यक छ । यसबारे पार्टीले गम्भीर भएर सोच्नु आवश्यक छ ।’