अवरुद्ध सिमखेत सडक सञ्चालनमा, हेलम्बु र पाँचपोखरीमा अनिश्चित


२९ श्रावण २०८०, सोमबार
Pahiro birami sindhupalchok scaled
मेलम्ची – भोताङ सडकअन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका–८ खाल्डेखोलामा गएको पहिरोले सडक अवरुद्ध भएपछि असक्तलाई बोकेर र अरु हिँडेर पहिरो पार गर्दै । तस्वीर : देवराज सुवेदी / रासस

सिन्धुपाल्चोक । अविरल वर्षाका कारण अवरुद्ध मेलम्ची नगरपालिका– ११ स्थित सिमखेतमा सडक सञ्चालनमा आएको छ । मेलम्ची–हेलम्बु सडक अन्तर्गतको सिमखेतमा आइतबार आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो । आज बिहानैदेखिको प्रयासपछि सडक अहिले सञ्चालनमा आएको नगर प्रमुख आइतमान तामाङले बताए । तामाङले नगरपालिका अन्तर्गत अवरुद्ध भएका सडक सञ्चालनका लागि तीव्र गतिमा काम गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै हेलम्बु गाउँपालिकाले हिउँदको समयमा नदी नियन्त्रणका लागि गरिएका सबै प्रयास असफल भएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । चनौटे, ग्याल्थुम र ढुङ्ग्रे बजारमा हालिएको ग्याबिन जालि समेत बाढीले बगाएको उनको भनाइ छ ।

गाउँपालिकाको ढुङ्ग्रे बजारदेखि ग्यालथुम बजारसम्म र ग्याल्थुम बजारदेखि ग्याल्थुम पुलसम्म, चनौटेको बेलिब्रिजदेखि गणेश बगरसम्मको सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिइन् । तत्कालका लागि सडक सञ्चालनमा ल्याउन सक्ने स्थिति नरहेको उनको भनाइ छ । खोलाको अवस्था हेरेर बस्ती संरक्षण र सडक सञ्चालनका लागि आवश्यक पहल र प्रयास गर्ने उनले जानकारी दिइन् ।

यसैगरी पाँचपोखरी थाङपाल गाउँपालिकोको वडा नं ८ खाल्डे गेट अगाडि उत्तिस घारीमा खोलाले कटान गरेका कारण पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै तिपेनी ‘ड्याम साइड’ अगाडिको पहिरो पन्छ्याइएको र अहिले सडक सञ्चालनमा आएको अध्यक्ष टासी लामाले जानकारी दिए । अध्यक्ष लामाले प्राकृतिक विपत्तिका कारण ठूलो क्षति बेहोर्नु परेको भन्दै पालिकावासीमा धैर्य गरी सुरक्षित रहन आग्रह गरेका छन् ।

अध्यक्ष लामाले अवरुद्ध भएका सडक सञ्चालनका लागि निरन्तर लागि परेको बताए । कतिपय स्थानमा अवरुद्ध भएका सडक सञ्चालनमा आएको उल्लेख गर्दै लामाले खाल्डे खोलास्थित उत्तिसघारीमा भने केही समय लाग्ने बताए । उनले अति आवश्यक काम परेमा मात्र घरबाट निस्कन र यात्रा गर्न आग्रह गर्दै तत्कालका लागि खाल्डे –लागर्चे तिपेनीको सडक वैकल्पिक रुपमा प्रयोग गर्न सुझाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७