कृषि पेसामा जमेका शिव, मासिक आम्दानी डेढ लाख


३० श्रावण २०८०, मंगलवार
fish farmer chitwan

– कृष्ण आचार्य
चितवन । नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनघले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले मासिक एकदेखि डेढ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

झण्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपंक्षी फार्म सुरु गरेका हुन् । विसं २०७२ देखि सुरु भएको उनको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैंसी छन् । उनको फार्ममा अहिले झण्डै पाँच हजार ब्रोइलर कुखुरा र तीन सय स्थानीय जातका कुखुरा छन् । यस्तै दुई कठ्ठामा निर्माण गरिएको पोखरीमा पौडेलले माछा पालेका छन् ।

गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले केरा समेत व्यावसायिकरूपमा लगाएका थिए । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए । कृषि पर्यटनको अवधारणास्वरुप उनँले फार्म निर्माण गरेका हुन् । फार्ममा पाहुनालाई समेत ल्याउन मिल्ने गरी संरचना तयार गरिएको छ । ‘यहाँ आउने पर्यटकले आफै माछा मारेर खान पाउनुहुन्छ’, उनले भने, ‘लोकल कुुखुरा आफै पकाएर खान सकिन्छ ।’ उनको फार्म छ हजार ब्रोइलर र एक हजार लोकल कुखुरा अट्ने क्षमताको छ ।

पौडेलले माछाका लागि भुरा उत्पादन आफै गर्छन् । ‘माछामा त्यति धेरै लगानी छैन । सुरुमा लगानी भयो, अहिले नियमित प्रतिफल दिइरहेको छ’, उनले भने । माछामा लगानीको १५ प्रतिशत पनि खर्च नहुने उनको भनाइ छ । कुखुरा र गाईवस्तुले फालेका दाना माछालाई खुवाउने गरेको पौडेलले बताए । उनले वार्षिक तीन क्विन्टल माछा निकाल्ने गरेको जानकारी दिए । उनको पोखरीमा कमनग्रास र सिलर्भर जातका माछा छन् ।

पौडेलको फार्ममा जडीबुटी खेती समेत छ । उनले दुई हेक्टर जमिनमा हर्रो, बर्रो, अमला, टिमुर, सिल्टिमुरलगायतका जडीबुटी लगाएका छन् । उनले कबुलियत मृगस्थली वनको जमिनमा जडीबुटी खेती गरेका हुन् । यसका लागि जिल्ला वन कार्यालयले दुई लाख समेत दिएको थियो ।

कृषि फार्ममा नियमित तलब दिएर कामदार राखिएको छैन । ‘सबै काम श्रीमान–श्रीमती मिलेर गर्ने गरेका छौँ’, उनले भने, ‘आवश्यकतानुसार ज्यालादारी कामदार खोजेर लगाउने गरेका छौँ ।’ बैंकबाट ऋण लिएर कृषि पेसामा लागेका शिवले फार्मकै आम्दानीबाट ऋण तिरेको बताउँछन् । उनले यो फार्मलाई अब कृषि पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् ।

अहिलेसम्म राज्यको कुनै पनि निकायबाट सहयोग नलिएको उनी बताउँछन् । ‘कृषि पेसा चुनौतीपूर्ण छ’, उनले भने, ‘कहिले के हुन्छ भन्ने ठेगान नै हुँदैन ।’ कृषि पेसा आशाको पेसा भएको भन्दै उनी वातावरण, बजार र मूल्यमा भर पर्ने बताउँछन् । ‘ब्रोइलरको दाना र चल्लाको मूल्य कहिल्यै घट्दैन । मासुको मूल्य सधैँ तलमाथि हुन्छ’, उनले भने, ‘भुस किन्न पनि महँगो छ ।’ किसानलाई प्राकृतिकरूपमा आउने विपत्ति र बजारीकरणको समस्या रहेको उनी बताउँछन् । उनले ठूला व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण साना किसान समस्यामा पर्ने गरेको गुनासो गरे ।

कृषि पेसाअघिका संघर्ष

पौडेल रोजगारीका लागि नेपालमै केही गर्न सकिन्छ भनेर विभिन्न पेसामा लागे । उनले कुरिनटारमा चार वर्ष पुस्तक पसल समेत सञ्चालन गरे । तर भने जस्तो आम्दानी नभएपछि अन्य युवा जस्तै उनी विदेशिन बाध्य भए । उनी कतारमा चार वर्ष बसे । तर आम्दानी भने सोचे जस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेलले नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किए । उनले कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुर्ख्याैली जमिनमा व्यावसायिकरूपमा कृषि गर्न थाले ।

विसं २०७२ देखि फार्म दर्ता गरेर व्यवसाय थालेका पौडेल आफ्नो कामप्रति गर्व गर्छन् । उनले छोरालाई डाक्टर र छोरीलाई नर्स पढाएका छन् भने परिवारलाई खुशी राखेका छन् । छोराछोरीले छात्रवृत्तिमा नाम निकालेको भन्दै उनले वार्षिकरूपमा हुने आम्दानीले आफू सन्तुष्ट रहेको बताउँछन् । ‘कृषि पेसाले मानिसलाई सन्तुष्टि पनि दिन्छ’, उनले भने, ‘अग्र्यानिक खानेकुरा खान पाइने भएकाले स्वस्थ्य पनि भइन्छ ।’ उनलाई यतिबेला बजारको खासै समस्या छैन । नजिकै रहेका मुग्लिन, कुटिनटार र फिस्लिङबाट उनले उत्पादन गरेका वस्तु बिक्री हुन्छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयमा पनि उनले उत्पादन गरेका वस्तु लैजाने गरिएको छ ।

सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उनको माग छ । ‘सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिकरूपमा अनुदान रकम बाँड्दै आएको छ । तर कृषकसम्म अनुदान रकम पुग्दैन । वास्ताविक कृषक अनुदानबाट बञ्चित छन्’, उनले भने, ‘कृषकका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन । यो कतिसम्म विडम्बनाको विषय हो । सरकारले कृषि पेसामा लागेका कृषकलाई उत्साह होइन, विस्थापित गर्न मात्र खोजिरहेको देखिन्छ ।’

युवालाई सुझाव

कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उहाँको सुझाव छ । “विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ”, उहाँले भन्नुभयो, “त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ।” रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने पौडेलको सुझाव छ ।

स्थानीय सरकारले पनि आफ्नो गाउँठाउँमा भएका उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने पौडेल बताउँछन् । कृषि पेसामा आउन चाहने युवालाई बजारसँग जोडिएर काम गर्न पौडेलको सुझाव छ । ‘कृषि पेसामा चुनौतीका बाबजुद पनि आशाका किरण प्रशस्त छन्’, उनी भन्छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७