सुशासनमा केन्द्रित छाैं, प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नु भएको छ : मन्त्री शर्मा


२०८० श्रावण ३१ बुधबार ०७:५५ बजे

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएका छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताए ।

भ्रष्टाचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिए । ‘सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टाचारका घटनामा अनुसन्धानलाई जसरी अगाडि बढाएको छ, यसमा सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भनिन् ।

सरकारका प्रवक्ता मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । ’भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नु भएको छ । अनुसन्धान निष्कर्षमा पुर्‍याउने छौँ ।’

मन्त्री शर्माले अर्थतन्त्रमा आएको गिरावटका कारण दाङमा पूर्वाधार विकासका क्षेत्रमा पर्याप्त बजेटको व्यवस्था गर्न नसिकएको बताइन् । सामाजिक सञ्जाल नियमनका लागि कानुनबमोजिम निर्देशिका तयार गरिरहेको जनाउँदै उनले जिल्लाका पत्रकार तथा सरोकारवाला निकायलाई आवश्यक सल्लाह दिन आग्रह गरिन् ।

जिल्लाको विकट क्षेत्रका रूपमा रहेको राजपुरको मुसिनाकामा टेलिकम सेवा विस्तारको तयारी भइरहेको उनले जानकारी दिइन् । घोराही–तुलसीपुर चार लेनको सडकको ठेक्का सहमतिमा रद्द गरिएको जनाउँदै उनले काम नगर्ने ठेकेदारसँग सहमति गरी उक्त ठेक्का रद्द गरिएको बताइन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७