६ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै


३२ श्रावण २०८०, बिहीबार
Hotel room
फाइल फोटो

काठमाडौँ । हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।

कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । ६३ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिने छन् । होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिए । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताए । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उनको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताए ।

‘पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो’, उनले भने । सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउँछन् ।

४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ । यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७