गण्डकीमा ‘उच्च घनत्व प्रविधि’ मा आधारित स्याउ खेती विस्तार


३२ श्रावण २०८०, बिहीबार
Apple gandaki

– रामबहादुर थापा

गण्डकी । गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउ खेती विस्तार गरिएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । हिमाल पारिका जिल्ला मुस्ताङ र मनाङ स्याउका लागि उर्बर भूमि हुन् ।

बागलुङको ढोरपाटन, गोरखाको चुमनुब्री, म्याग्दीको गुर्जालगायतका ठाउँमा पनि उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती सुरु गरिएको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । स्याउ खेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट तीन सय ९२ र शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत एक सय ८० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गरिएको उनको भनाइ छ ।

‘मुख्यरुपमा मुस्ताङ र मनाङमा स्याउ खेतीलाई केन्द्रित गरिएको छ, अरु जिल्लाका उच्च पहाडी भेगमा पनि थोरैथोरै क्षेत्रमा स्याउ खेती सुरु गरिएको छ’, प्रमुख रेग्मीले भने । गत आवमा स्याउ खेती विस्तारतर्फ १ करोड ५० लाख र शितोष्ण फलफूल विस्तारमा छ करोड बजेट खर्च भएको निर्देशनालयले जनाएको छ । स्याउ खेती विस्तार तथा व्यवसायीकरण आयोजनाबाट मुस्ताङमा ५८ हजार आठ सय स्याउका बिरुवा वितरण गरिएको थियो ।

शितोष्ण फलफूल विस्तार तथा व्यवसायीकरण आयोजनामार्फत अन्य जिल्लामा २७ हजार स्याउका बिरुवा वितरण गरिएको प्रमुख रेग्मीले बताए । शितोष्ण फलफूल विस्तार आयोजनाअन्तर्गत १० हजार एक सय ओखरका बिरुवा समेत वितरण गरी थप पाँच सय पाँच रोपनीमा ओखर बगैँचा विस्तार भएको जनाइएको छ । विस्तार गरिएको स्याउ खेतीबाट प्रतिकिलो रु एक सय ५० का दरले वार्षिक झण्डै रु १७ करोड ३७ लाख बराबरको स्याउ उत्पादन हुने निर्देशनालयको अनुमान छ ।

औसतमा १० प्रतिशत बोट मरे पनि बाँकी बोटले वर्षमा १५ किलो उत्पादन दिँदा वार्षिक एक हजार एक सय ८५ मेट्रिकटन स्याउ उत्पादन हुने जनाइएको छ । स्याउका लागि मुस्ताङमा एक सय टन क्षमताका दुई चिस्यान केन्द्र पनि निर्माण गरिएको कृषि ज्ञानकेन्द्र मुस्ताङका कृषि अधिकृत हरिप्रसाद न्यौपानेले बताए । थासाङ गाउँपालिकाको टुकुचे र घरपझोङ गाउँपालिकाको मार्फामा चिस्यान केन्द्र निर्माण गरिएको हो ।

अधिकृत न्यौपानेका अनुसार लोमान्थाङ गाउँपालिका बाहेक मुस्ताङका चारै गाउँपालिकामा उच्च घनत्वमा आधारित स्याउ खेती विस्तार गरिएको हो । ‘किसानले बिरुवामा ७५ प्रतिशत र खेती व्यवस्थापनमा ५० प्रतिशत अनुदान पाएका छन्’, उनले भने, ‘उच्च घनत्वको आधुनिक प्रविधिको स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दो छ, बर्सेनि मुस्ताङमा स्याउको क्षेत्रफल बढिरहेको छ ।’ रैथाने जातभन्दा उच्च घनत्वको स्याउका बोट होचो र हाँगाबिँगा कम हुने हुँदा बगैँचा व्यवस्थापन गर्न पनि सजिलो हुने उनको भनाइ छ ।

छिटो र धेरै उत्पादन दिने भएपछि उक्त प्रविधिको स्याउ खेतीतर्फ किसान आकर्षित भएका हुन् । उच्च घनत्वको स्याउ खेतीका लागि एउटै बिरुवाको रु एक हजारदेखि एक हजार दुई सयसम्म मूल्य पर्ने र बगैँचा व्यवस्थापन पनि खर्चिलो भएकाले सरकारले थप अनुदान सहुलियत दिनुपर्ने किसानको माग छ ।

उक्त प्रविधिको स्याउ खेती सात-आठ वर्षअघि मात्र नेपाल भित्रिएको थियो । गण्डकी प्रदेशमा सुरुमा मनाङबाट उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती सुरु गरिएको थियो । ‘यो स्याउका बिरुवा इटालीदेखि नेपाल भित्र्याइएको हो, थोरै जग्गामा पनि धेरै बिरुवा लगाउन सकिन्छ, छिटो र धैरै पनि फल्छ, २५ वर्षसम्म यसले उत्पादन दिन्छ’, अधिकृत न्यौपानले भने, ‘मुस्ताङमा धेरैजसो गाला, फुजी, गोल्डेनलगायत जातका स्याउखेती गरिएको छ, तीन÷चार वर्षमै यसले उत्पादन दिन सुरु गर्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७