संखुवासभा कारागारमा चरम यातना दिएर दुई कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

‘कैदीको हत्यामा प्रहरी र चौकीदारसहितका कैदीकै संलग्नता देखियो’


३२ श्रावण २०८०, बिहीबार
Sankhuwasabha Karagar

संखुवासभा । संखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएका हुन् ।

यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार संखुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’ को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीको समेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए ।

‘बाहिर निर्मम र पासविक यातना दिएपछि अन्तिममा भित्री प्रशासनलाई बुझाएको देखिन्छ,’ स्थलगत अनुगमनका लागि घटनास्थल पुगेर फर्किएका इन्सेक कोशी प्रदेश संयोजक सोमराज थापाले भने, ‘भित्रको प्रशासनले पनि कुटपिट गरेको देखिन्छ ।’

मृतकमाथि रड र लाठी पनि प्रहार भएको थियो । अनुगनका लागि पुगेको टोलीका एक सदस्यका अनुसार यातना दिने क्रममा उनीहरुको खुट्टामा रड घोपिएको थियो । रड घोपिएको डाम शवमा प्रष्ट देखिन्छ । सुरुमा प्रहरीले यातना दिएपछि अन्तिम अवस्थामा कारागारको आन्तरिक प्रशासनलाई बुझाएको थियो ।

आन्तरिक प्रशासनले पनि कुटपिट गरेको अनुगमन टोलको निष्कर्ष छ ।अनुसन्धानपछि केन्द्रीय छानबिन समितीले भोलि (शुक्रबार) उक्त घटनाको प्रतिवेदन गृह मन्त्रलायमा बुझाउने तयारी गरेको संयोजक पाण्डेले बताए । उनका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ ।

मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो । चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका छन् । घटना लगत्तै अनुसन्धानका लागि उक्त टोली गत शुक्रबार संखुवासभा आएको थियो । 

घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवि कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि संखुवासभा आएको थियो । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ कैदीबन्दी छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७