विपक्षीको तीक्ष्ण आलोचनापछि अग्निपीडितलाई भेट्न राष्ट्रपति बाइडेन हवाई जाने


२०८० भदौ १ शुक्रबार ०७:२४ बजे

काठमाडौं । राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जाने भएका छन् । विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आगामी साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ ।

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । सबै मृतकको सनाखत हुन सकेको छैन । पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन् ।

झण्डै १३ हजार घरमा क्षति भएको छ । दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको सरकारी अधिकारीहरूले बताएका छन् । सङ्घीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने ५० हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र १० हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७