यूरोपेली प्रतियोगिताको डेब्यूमै ‘साम्बा’ को गोल

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले युरोपेली फुटबल प्रतियोगितामा ‘डेब्यु’ गोल गरेकी छिन् । प्रि सिजन खेलमा हापोएल रानानाका तर्फबाट उनले गोल गरेकी हुन् ।
हापोएलले हादेरालाई २–० ले पराजित गर्दा सावित्राको नाममा एक गोल रह्यो । सावित्रा हालै इजरेली क्लब हापोएलमा आवद्ध भएकी थिइन् । इजरायल एसियामा भए पनि फुटबलमा भने उ युरोपेली फुटबल महासंघअन्तर्गत पर्छ । सावित्रा यूरोपेली क्लबमा आवद्ध हुने पहिलो नेपाली महिला फुटबलर समेत हुन् ।
यसअघि सावित्रा भारतीय महिला आई लिगमा चम्किएकी थिइन् । उनले आई लिगमा तीन वटा उपाधि जितेकी थिइन् । उनी घरेलु लिग फुटबल सशस्त्रको एपीएफ क्लबबाट खेल्छिन् ।