तरकारी बजारले बदलियो फिस्लिङको पहिचान


१ भाद्र २०८०, शुक्रबार
Tarkari bikri ch3itwan

– कृष्ण आचार्य
भरतपुर । पृथ्वी राजमार्गसँगै जोडिएको चितवनको इच्छाकामना गाउँपालिका–३ को फिस्लिङ बजार जलयात्रामा जाने पर्यटकको अलि भिडभाड हुने ठाउँ मानिन्छ । विस्तारै यो ठाउँमा अहिले पर्यटकले भन्दा तरकारी उत्पादक किसानको भिडभाड हुने गरेको छ ।

यतिबेला वर्षायाम हुँदा राजमार्गसँग जोडिएका कतिपय बजार चकमन्न हुँदा फिस्लिङ बजारमा भने बिहानैदेखि चहलपहल हुने गर्दछ । तरकारी सङ्कलन केन्द्रका रुपमा चिनिएको फिस्लिङमा किसान बिहानैदेखि तरकारी र फलफूल बिक्रीका लागि आउने गरेका छन् भने किन्न आउने व्यापारीको लाइन लाग्ने गरेको छ ।

गाउँमा किसानले व्यावसायिकरुपमा लगाएको तरकारी यहाँ बिक्री गर्न ल्याउँछन् । चितवन, गोरखा, धादिङ र तनहुँका किसानको कृषिजन्य उत्पादन यहाँको बजारबाट बिक्री हुने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, धादिङको बेनिघाट रोराङ गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी यहाँ ल्याउने गरिएको छ ।

इच्छाकामना गाउँपालिका–३ तल्लो डुडेका ज्ञानबहादुर प्रजाको तरकारी बिक्री गर्ने ठाउँ फिस्लिङ बजार नै हो । उनी आफूले व्यावसायिकरुपमा लगाएको तरकारी बिक्रीका लागि नियमित रुपमा यस बजारमा आउने गर्छन् । तरकारीले नै जीवनमा परिवर्तन ल्याएको अनुभव सुनाउँदै उनले भने, ‘मकै र कोदो लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो, अहिले तरकारीबाट राम्रो आम्दानी भएको छ ।’ उनले यतिबेला तीन कट्ठामा जमिनमा गोलभेँडा लगाएका छन् । अहिले गोलभेँडाको भाउ पनि उच्च छ । आफ्नो उत्पादनले राम्रो भाउ पाएपछि उनी खुशी छन् । गोलभेँडा बेच्न फिस्लिङ झरेका चेपाङ हालसम्मकै उच्च मूल्य पाएको बताउँछन् । उनीसँगै गाउँका अन्य किसानले पनि व्यावसायिकरुपमा तरकारी खेती गरेका छन् । अहिले गाउँगाउँमा यातायातको सुविधा पुगेको छ । गाडीमार्फत नै किसान तरकारी फिस्लिङ पठाउँछन् । ‘मनकामनाबाट भाडामा ल्याएर बोलेरो चलाएका छौँ । हाम्रो कृषि समूह छ’, उनले भने, ‘समूहलाई आधा रकम उपलब्ध गराउने हो भने हामी किन्ने थियौँ ।’ उनले सरकारले अनुदानमा कृषि समूहलाई एउटा गाडी उपलब्ध गराए किसानलाई सहज हुने बताउँछन् । फिस्लिङ सङ्कलन केन्द्रमा मध्यस्थकर्ताको भूमिका यहाँ सहकारी र व्यवसायीले गरेका छन् । किसानले उनीहरुलाई काँटा गरे बापत प्रतिकिलो दुई रुपैयाँ दिने गर्दछन् । व्यापारीहरु तरकारी लिन काठमाडौंँ, पोखरा, नारायणगढ, बुटवललगायतका ठाउँबाट आउने गर्छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड दाह्रेचोकका संस्थापक डम्बरबहादुर गुरुङ २०५७ सालदेखि यहाँ तरकारी सङ्कलन केन्द्र स्थापना भएको बताउँछन् । केन्द्र स्थापना भएपछि अन्यत्र लगेर बिक्री गर्नुपर्ने बाध्यता हटेको उनले बताए । ‘मैले आफै सुन्तला खेती गरेको छु’, उनले भने, ‘यही बजारमा बिक्री गरेर वार्षिक १० लाख रुपैयाँसम्म कमाउने गरेको छु ।’ उनले काम गर्ने किसानका लागि सङ्कलन केन्द्रले धेरै राहत प्रदान गरेको बताए । विगतको सम्झना गर्दै उनले भने, ‘सुनसान ठाउँ तरकारी सङ्कलन केन्द्रकै कारण चम्किएको छ ।’ यहाँ नजिकबाट मात्र नभई टाढाटाढाबाट पनि किसान तरकारी बिक्रीका लागि आउने गरेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित जोगिमाराका लोकनाथ डल्लाकोटीले तरकारी बिक्रीका लागि फिस्लिङ नै झर्नुपर्ने बाध्यता रहेको बताउँछन् । ‘व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको २० वर्ष पुग्यो’, उनले भने, ‘गाउँमा बजारीकरणको समस्या छ, बजार नै झर्नुपर्छ ।’ उनले दुई रोपनीमा तरकारी खेती गर्दै आएका छन् । विगतमा उनले काठमाडौंँ र नारायणगढसम्म तरकारी बिक्रीका लागि लैजाने गर्थे । अहिले त्यो बाध्यता भने हटेको छ । यही व्यवसायबाट उनले छोराछोरीलाई उच्च शिक्षा पढाएका छन् । बेनीघाट रोराङका विष्णु प्रजाको पनि तरकारी बिक्री गर्ने बजार फिस्लिङ नै हो । आफ्नै बारीमा उनले तरकारी खेती गर्दै आएका प्रजाले उत्पादन हुनासाथ फिस्लिङ बजार ल्याउँछन् । फिस्लिङमा तरकारी तथा फलफूल सङ्कलन केन्द्र स्थापना भएपछि व्यावसायिक तरकारी खेती गर्न थालेको उनी बताउँछन् । उनको परिवार यही तरकारी खेतीले राम्रोसँग चलिरहेको छ । उनी मात्र होइन, खोरिया खनेर जीविकोपार्जन गर्दै आएका चेपाङ समुदायका मानिस व्यावसायिक बन्दै गइरहेका छन् । उनीहरु पनि यही बजारमा आफ्नो उत्पादन लिएर बिक्रीका लागि आउने गरेका छन् । फिस्लिङ राजमार्गसँगै जोडिएका कारण यहाँ यात्रा गर्ने यात्रुहरुले पनि सवारीसाधन रोकेर तरकारी तथा फलफूल किन्ने गरेका छन् । इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्रका लागि भवन समेत निर्माण गरेको छ । अहिले भवनमा रहेका सटरमा पाँचवटा तरकारी सङ्कलन केन्द्र सञ्चालन भइरहेका छन । मौसममा यस तरकारी सङ्कलन केन्द्रबाट २० ट्रक तरकारी बिक्री हुने गरेको वडा नं ३ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरबहादुर नेपालले बताए । यस केन्द्रले यस क्षेत्रका मानिसहरुलाई कृषिले जीविकोपार्जनमा धेरै सहयोग पुर्‍याएको छ । ‘विगतमा मकै र कोदो मात्र लगाउँदा त्यति आम्दानी हुँदैनथ्यो । आजभोलि तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ’, उनले भने, ‘यहाँ मौसममा २० र बेमौसममा कम्तीमा पाँच ट्रक तरकारी यस बजारबाट बिक्री हुने गरेको छ ।’ यहाँका किसानले सुन्तला, नास्पती, कागतीलगायतका फलफूल समेत यहाँ नै ल्याएर बेच्छन् । चितवन, गोरखा र धादिङका २० हजारभन्दा बढी किसानले उत्पादन गरेको तरकारी यहाँ आउने गर्दछ । यस सङ्कलन केन्द्रबाट मासिक ५० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने उनले जानकारी दिए । गाउँपालिकाले किसानको उत्पादन र बजारीकरणका लागि सहयोग गरिरहेको छ । गत वर्ष वडा नं २ को हपनी कृषि समूहलाई तरकारीको बजारीकरणका लागि कृषि एम्बुलेन्स उपलब्ध गराएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले यो वर्ष थप दुई समूहलाई कृषि एम्बुलेन्स खरिद दिने योजनामा गाउँपालिका रहेको बताए । यहाँ एक करोड लगानीमा सुविधा सम्पन्न सङ्कलन केन्द्र निर्माण हुँदैछ । सङ्कलन केन्द्रको भवनभित्रै करिब २५ टन अट्ने शीतभण्डार समेत निर्माण भएको छ । गाउँपालिकाले शीतभण्डार सञ्चालनका लागि कार्यविधि निर्माण गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष गुरुङले यसै वर्षबाट सञ्चालनमा आउने जानकारी दिए । उनले भने, ‘साना किसानलाई शीतभण्डार सञ्चालनको जिम्मा दिन लागेका छौँ, न्यूनतम् मूल्यमा किसानले शीतभण्डारको उपभोग गर्न पाउने छन् ।’

उनले शीतभण्डार सञ्चालनमा आएसँगै किसानको उत्पादन बिक्री भएन भनेर चिन्ता लिनुपर्ने अवस्था नरहने बताए । शीतभण्डार नहुँदा अहिले किसानहरुले आफ्नो उत्पादन सस्तो मूल्यमा दिनुपर्ने बाध्यता छ । सहकारीमार्फत तरकारी सङ्कलन गरेपछि मध्यस्तकर्ताले राख्ने प्रतिकिलो दुई रुपैयाँलाई घटाउन सकिने अध्यक्ष गुरुङले बताए । ‘सहकारीमार्फत ५० पैसामा झार्ने लक्ष्य राखेका छौँ’, उनले भने, ‘यो काम दुई महिनाभित्र गर्दछौँ ।’

पालिकाले इच्छाकामनाका गाउँगाउँमा तरकारी उपसङ्कलन केन्द्रसमेत स्थापनाको तयारी गरेको छ । हात्तीबाङ, काउले, मायाटार, दाह्रेचोक र जलबिरेमा उपसङ्कलन केन्द्र स्थापना गरिने उनको भनाइ छ । एउटा सङ्कलन केन्द्रलाई करिब रु १० लाख लागत लाग्ने उनले बताए । यसका लागि वडागत रुपमा बजेट समेत विनियोजन भइसकेको छ । इच्छाकामना गाउँपालिका–१ को हात्तीबाङ क्षेत्र, वडा नं २ को हपनी, मायाटार, काउले क्षेत्र, वडा नं ३ को सबै क्षेत्र, वडा नं ५ को तामिन, साठीमुरे, पामडाँडामा तरकारी र फलफूल खेती हुने गरेको छ ।

यी सबै ठाउँमा अहिले यातायातको व्यवस्था पुगिसकेको गाउँपालिकाले जनाएको छ । अध्यक्ष गुरुङले पालिकाले किसानले उत्पादन गरेको वस्तुको मूल्यमा एकरुपता ल्याउनका लागि काम गरिरहेको बताए । उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिन समेत सहज हुने बताए । उनले पालिकाले आव २०८०/८१ मा कृषि क्षेत्रलाई प्राथमितामा राखेको भन्दै डेढ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिए । यसले ग्रामीण क्षेत्रमा बस्ने पिछडिएका खासगरी चेपाङ समुदायको पनि जीवनस्तर उकासिने उनको विश्वास छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७