चीन भ्रमणका बेला ऊर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने विश्वास छ : प्रधानमन्त्री


२०८० भदौ १ शुक्रबार ०७:२७ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणका बेला ऊर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको बताएका छन् । विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई आज (शुक्रबार) सम्बोधन गर्दै उनले चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दूरगामी सम्झौताको सम्भावना रहेको बताए । प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाँदै छन् । उनी न्युयोर्कबाट असोज ४ गते चीनको भ्रमणमा जाने तय भएको छ ।

‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरूङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत् जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौं । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ उनले भने ।

हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्‍याइने प्रधानमन्त्री प्रचण्डले बताए । १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रूपमा हेरिएको छ । यसबाट नेपालमा जलविद्युत लगानीको थप उपयुक्त वातावरण निर्माण भएको छ भने दीर्घकालिन विद्युत व्यापारका लागि स्वदेशी तथा अन्तरदेशीय प्रसारण संरचनाको तयारी पूरा गर्न एवं विश्वसनीय कार्ययोजना तर्जुमा गर्न हौसलाका साथ सम्बन्धित मन्त्रालय र सबै सरोकारवाला निकायहरूको समन्वयपूर्ण योगदान आवश्यक रहन्छ,’ उनले भने ।

भारतसँगको समझदारीलाई मूर्तरूप दिन नेपालका सम्बन्धित निकायहरू भारतीय पक्षसँग पनि लगातार सम्पर्क र समन्वयमा रहेको उनले बताएका छन् । त्यसका लागि अपरिहार्य रहेको अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालिसकेको प्रधानमन्त्रीको भनाइ छ ।

‘बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन निकट भविष्यमै निर्माणको चरणमा जानेगरी नेपाल र भारत दुबैतर्फ आवश्यक कार्यहरू अघि बढाइएको छ । थप दुई नेपाल–भारत ४०० केभी प्रसारण लाइनहरू इनरुवा–पूर्णिया र दोधारा–बरेलीको निर्माण प्रारूप आगामी २ महिनाभित्र उर्जा सचिवस्तरीय संयन्त्रमार्फत सहमतिमा पुर्‍याउन मैले आवश्यक निर्देशन दिइसकेको छु,’ उनले थपे, ‘यसै वर्षा यामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ र अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाई उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७