पूर्व प्रधानमन्त्रीहरु परेपछि सत्ता गठबन्धनले ललिता निवास प्रकरण सामसुम पार्दैछ : लिङ्देन


२०८० भदौ १ शुक्रबार ०६:५५ बजे

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् । आज (शुक्रबार) भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्को निर्णयमा संलग्नलाई व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । सो घटनामा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको नाम जोडिएपछि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको उनले बताए । ‘यदि यो सरकार भ्रष्टाचारविरुद्ध इमानदार थियो भने त्यहाँ किन पुगेन ? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ’, उनले भने ।

उनले जनतालाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरें भनेर डंका पिटेको बताए । उनले सरकार यसरी नै चलिरहे २०८४ सालको निर्वाचन नआउने दाबी गरे । उनले नक्कली भुटानरुी शरणार्थी प्रकरण सामसुम बनाउन अनुसन्धान गरिरहेका प्रहरी अधिकृतलाई सरकारले सरुवा गर्न लागेका पनि उल्लेख गरे ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिनपछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरू ठालु पक्राउ पर्नेछन् । अस्तीको अनुसन्धानको जिम्मा लिएर सरकारलाई त्यो फाइल अघि बढाउन जसले बाध्य बनायो ती प्रहरी अधिकारीहरूलाई दुई-तीन दिनभित्र सरुवा गर्दैछ । त्यो फाइल सामसुम पार्ने योजना छ’, उनले भने ।

अध्यक्ष लिङ्देनले नेपाल शक्ति देशहरूको प्रतिस्पर्धास्थल बनिरहेको दाबी गरे । उनले सरकार एकातिर भ्रष्टाचारविरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सत्ता टिकाउने काममा लागेको सुनाए । उनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको जिकिर गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७