मनाङका किसानले टिप्न थाले स्याउ


२०८० भदौ १ शुक्रबार ०७:१७ बजे

मनाङ । हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् ।

मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासों गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताए । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ’, उनले भने । टिपेका स्याउ प्याकेजिङ गरी सुरक्षितरुपमा बजारसम्म पुर्‍याउने गरिएको उनले बताए ।

त्यस्तै नासों–९ स्थित दानाक्यु एग्रो फार्ममा लगाइएको स्याउ पनि टिप्न थालिएको छ । पाँच जनाको समूहमा स्याउखेती गरेका फार्मका सञ्चालक राज गुरुङले यस समयमा पाक्ने प्रजातिको स्याउ टिप्न थालिएको जानकारी दिए । उनका अनुसार स्थानीयदेखि विभिन्न प्रजातिका विकासे स्याउ अहिले टिप्ने अवस्था भएको छ ।

त्यसैगरी किसान सङ्गीता गुरुङ तमुले स्याउ टिपेर बजारमा पुर्‍याउन प्याकेजिङको काम भइरहेको बताइन् । मनाङमा उत्पादित स्याउ नेपालकै विभिन्न बजारमा खपत हुने गरेको उनले जानकारी दिइन् । ‘स्याउ स्वादिलो र रसिलो हुनेहुँदा स्थानीय बजारमा नै खपत हुन्छ, विदेशसम्म पुग्नै पाउँदैन’, उनले भनिन् । यहाँ उत्पादित स्याउ बजारसम्म सुरक्षितरुपमा सग्लै पुर्‍याउन भने कठिन छ । सडकको अवस्था व्यवस्थित नहुँदा यहाँ उत्पादित स्याउ पूरै बिक्री हुन नपाएको किसान सोलबहादुरले बताए । ‘बाटोका कारणले बिक्रीका लागि ल्याइएकामध्ये आधा फाल्नुपर्ने अवस्था छ, बजारसम्म पुग्ने सडक सहज भइदिएको भए किसान खुसी हुने थिए’, उनले भने ।

कृषि ज्ञानकेन्द्रका प्रमुख राजेश्वर सिलवालले मनाङमा उत्पादित स्याउ विशेषगरी काठमाडौँ र पोखराका बजारमा खपत हुने गरेको जानकारी दिए । ‘लामो बाटो छ, सहज बाटो छैन, जसले गर्दा उत्पादित वस्तुको मूल्य किसानले पाउन सकेका छैनन्, बाटो सहज भएमा यहाँका किसानको आय अझ वृद्धि हुन्छ’, उनले भने । कोभिड संक्रमणको समयमा यहाँका स्याउ बजारसम्म पुर्‍याउन सकस भए पनि यस वर्ष स्याउको उत्पादन बढेको उनले बताए । यस क्षेत्रमा वर्षा नभए पनि सुक्खा पहिरो खसिरहने भएकाले स्याउ बजारसम्म पुर्‍याउन सकस रहेको छ । बाटो सहज बनाउन समय लाग्ने भएमा यहाँको स्याउ बजारसम्म पुग्न नपाउँदै कुहिन सक्ने अवस्था रहेको छ । हाल सडकअवरुद्ध भएमा तत्कालै सहज बनाउनका लागि डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयले विभिन्न स्थानमा स्काभेटर राखेर सहज बनाउने काम गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७