संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गर्न मिल्दैन : सचेतक बर्तौला
‘संसद अवरोधको कारक सरकार हो, खुलाउने जिम्मेवारी पनि उसकै हो’

लुम्बिनी । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले संसदमा उठेका विषयलाई सरकारले नजरअन्दाज गरेर गैरजिम्मेवार बन्न नमिल्ने बताएका छन् । उनले संसद् अवरोधको कारक सरकार भएको आरोप लगाउँदै संसद् खुलाउने जिम्मेवारी र दायित्व पनि सरकारकै भएको बताए ।
प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचेतक बर्तौलाले जनप्रतिनिधिले आफ्ना माग राख्दा प्रतिपक्षले संसद् अवरोध गर्यो भनेर सरकार र गठबन्धनले भ्रम फैलाएको आरोप लगाए । प्रतिपक्षी दलले उठाएका मागमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने तर सरकार संविधान र संसदीय मूल्यमान्यता विपरीत अगाडि बढेकाले संसद् अवरोध हुन पुगेको उनको भनाइ थियो । ‘संसद् अवरोध खुलाउन सरकार नै जिम्मेवार हुनुपर्छ’, उनले भने ।
‘आर्थिक अनियमितताका सबै फाइल खोलेर निष्पक्ष छानबिन गर्न एमालेको सरकारसित माग छ’, सचेतक बर्तौलाले भने । सुन तस्करी प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेको उनले बताए ।