धनुषामा ‘लम्पी स्किन’ रोगविरुद्ध धमाधम पशुलाई खोप


५ भाद्र २०८०, मंगलवार
Lampi skin khop tanahu scaled
फाइल फोटो

जनकपुर । मधेस प्रदेशमा लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रदेश सरकार र स्थानीय तहले उच्च प्राथमिकता दिन थालेका छन् । यसका लागि धमाधम पशुलाई सो रोगविरुद्ध खोपसहित सचेतनाका कार्यक्रम सञ्चालन गरिएका छन् ।

धनुषामा करिब २९ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । गत साउन ३२ गतेसम्म २८ हजार नौ सय ९५ पशुमा खोप लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले जनाएको छ । केन्द्रको प्रमुख डा. सञ्जीवकुमार ठाकुरले जिल्लाका १८ वटै पालिकाका २९ हजार पाँच सय ८० पशुलाई खोप लगाएको जानकारी दिए । यसमध्ये प्रदेश सरकारबाट सात हजार नौ सय ९५ र सबै स्थानीय तहबाट २१ हजार चार सय मात्रा खोप प्राप्त भएको पनि उनले बताए ।

जिल्लामा २९ हजार चार सय ४६ गाई तथा गोरु र एक सय ३४ भैँसी तथा रागा लम्पी स्किनबाट संक्रमित भएका थिए भने तीमध्ये छ सय ८० गाई तथा गोरु मरेका थिए । जिल्लामा सुरुमा आक्रमकरूपमा फैलिए पनि हाल रोग करिब नियन्त्रणमा आएको केन्द्रले जनाएको छ । लम्पी स्किनको संक्रमणपछि पशु चौपायाको शरीरमा घाउ, फोका आउने र खुट्टा सुनिने गरेको छ । यसले गर्दा दूध घट्ने र घाँसपात राम्ररी नखानेजस्ता समस्या देखिने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७