नेकपा एसको बैठक : ३० केन्द्रीय सदस्यले राखे धारणा, हरेकलाई पाँच मिनेट समय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक सुरु भएको छ । मङ्गलबारदेखि बालकुमारीमा प्रारम्भ भएको उक्त बैठक बाँकी छलफलका लागि आज पुनः बसेको हो ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । अध्यक्ष नेपालले मंगलबारको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही प्रतिवेदनमाथि आज बिहान ८ बजेपछि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।
उपमहाचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार हालसम्म ३० जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । एक जना सदस्यलाई बोल्नका लागि पाँच मिनेटको समय दिइएको छ । बैठक भोलिसम्मका लागि तय गरिएको छ । मङ्गलबारको बैठकमा अध्यक्ष नेपालले आफ्नो प्रतिवेदन पेस गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू–राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरेका थिए ।
उक्त प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै अध्यक्ष नेपालले विभिन्न कारणले आफ्नो पार्टी एमालेभन्दा फरक रहेको उल्लेख गरे । मुलुकमा पुँजीवादी क्रान्तिको अन्त्य गर्न जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेकाले सो विचार छाड्न नसक्ने प्रतिवेदनमा उल्लेख छ । यही भदौ ७ गतेसम्म चल्ने सो बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने बताइएको छ ।