मनाङ सडक : साँझ खुल्यो, बिहान अवरुद्ध


७ भाद्र २०८०, बिहीबार
7 Shares
pahiro manang

मनाङ । हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मर्स्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेंसीसहर–चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे–बँसीसहर–चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ । सबइञ्जिनीयर अधिकारीले भने, ‘एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ ।’

धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरको उनको भनाइ थियो । सबइञ्जिनीयर अधिकारीले भने, ‘मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ ।’ मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, पथ प्रर्दशक र कर्मचारीहरू बीच बाटोमै अलपत्रमा परेका छन् ।

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्‍याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए । उनले भने, ‘किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पुर्‍याउन सास्ती भएको छ, अर्डर आएको सामान समयमा बजारसम्म पुर्‍याउनै सकिदैन र आम्दानीभन्दा पनि सामान पुयाउनमै खर्च बढी लाग्ने गरेको छ ।’

यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडाैं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पुर्‍याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७