टीकापुर घटनामा मारिएका बालकको सालिक अनावरण


७ भाद्र २०८०, बिहीबार
JK Bhajani IMG 20230824 112327 scaled

कैलाली । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि क्रमबद्धरुपमा काम गर्दै आएका जानकारी दिएकी छन् । उनले भनिन्, ‘नागरिकको समस्या समाधान गर्न सरकारले काम गरिरहेको छ । विकासका लागि एकता सधैँ आवश्यक हुन्छ ।’

टीकापुर घटनामा ज्यान गुमाएका १८ महिनाका नाबालक स्व. टेकबहादुर साउदको सालिक अनावरण गर्दै मन्त्री श्रेष्ठले टीकापुर घटनालाई लिएर बाहिर जे–जस्तो नकारात्मक प्रभाव पार्ने काम भए पनि टीकापुर शान्त रहेको बताएकी हुन् । विसं २०७२ भदौ ७ गते टीकापुर घटना भएको थियो । ‘टीकापुर घटना निकै पीडादायी र दुःखद् थियो । त्यस घटनाको जति निन्दा गरे पनि कम हुन्छ’, मन्त्री श्रेष्ठले भनिन्, ‘अहिले पनि त्यहीँ घटनालाई देखाएर राजनीति गर्नेका कारण शान्त टीकापुरको अशान्तको सन्देश बाहिर पुग्ने गरेको छ । टीकापुरमा अशान्ति छैन, शान्त छ ।’

टीकापुर घटना राजनीतिक उतारचढावका बीच घटेको घटना भएको जनाउँदै मन्त्री श्रेष्ठले टीकापुर क्षेत्रको सामाजिक सद्भाव स्थापनाका लागि सबैले सकारात्मकरुपमा प्रस्तुत हुन आग्रह गरेकी छन् । मन्त्री श्रेष्ठले विकास र समृद्धिका लागि सबैले साझा योजनाका साथ सँगै हातेमालो गर्न आवश्यक रहेको बताइन् ।

‘हिजो आफ्ना हक, अधिकार र पहिचानका लागि विभिन्न कालखण्डमा आन्दोलनहरु भए । त्यस्ता कयौँ आन्दोलनबाट प्राप्त उपलब्धिलाई सबै मिलेर संस्थागत गर्नुपर्छ’, मन्त्री श्रेष्ठ भनिन्, ‘बेमेलले समाजलाई समृद्धि गर्न सकिँदैन । एकता र सद्भावले समृद्धि समाज निर्माण गर्न सकिन्छ ।’ राजनीतिक आस्था र विचार फरकफरक भए पनि सबैको उद्देश्य समृद्ध समाजको निर्माण गर्नु नै भएको भन्दै मन्त्री श्रेष्ठले विचारमा आग्रह पूर्वाग्रह भए पनि विकासमा एकता सधैँ आवश्यक हुने बताइन् ।
नेपालको संविधान जारी हुँदै गर्दा २०७२ भदौ ७ गते थारुहट÷थारुवान छुट्टै राज्यको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रुप लिँदा आठ जना सुरक्षाकर्मीसहित नाबालकको ज्यान गएको थियो ।

टीकापुर घटनाको मुख्य योजनाकारको अभियोगमा दोषी ठहर भइ अदालतले जन्मकैदको फैसला सुनाए पनि राष्ट्रपतिबाट कैद मिनाह पाएका रेशमलाल चौधरीले पनि संयुक्त रुपमा साउदको सालिक अनावरण गरेका हुन् । टीकापुर घटनाको ८ वर्ष पुगेको दिन पारेर मृतक साउदको स्मृतिमा बिहीबार सालिक अनावरण गरिएको हो । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशमलाल र टेकबहादुर साउद स्मृति प्रतिष्ठानले संयुक्त रूपमा सालिकको स्थापना गरेको थियो ।

सालिकको रेशमलालसहित नाउपाकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ, टेकबहादुर साउदका बाजे जंग साउद र बुवा आमाले संयुक्त रूपमा अनावरण गरे । सालिक अनावरण गर्दै नाउपाका संरक्षक रेशमलालले टीकापुर घटनामा मारिएका नाबालक टेकबहादुर साउद आफ्नो पनि बच्चा भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७