भारतीय पाठ्यपुस्तक पढाउने विद्यालयमा लाग्यो ताला


२ जेष्ठ २०७५, बुधबार
tala 1

झापा, २ जेठ । भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने झापा दमक नगरपालिका–६ स्थित सूर्योदय बोर्डिङ स्कुलमा युवा संघ नेपालले तालाबन्दी गरेको छ । tala 1

विद्यालयले विद्यार्थीलाई हाम्रो देश भारत हो । नयाँ दिल्ली देशको राजधानी हो । भारतीय झण्डा हाम्रो मुलुकको राष्ट्रिय झण्डा हो भनि पढाउने गरेको थियो । विद्यालयले भारतको पूर्व राष्ट्रपति प्रणब मुखर्जीको तस्बिर राखेर हाम्रो देशको राष्ट्रपति भएको र नरेन्द्र मोदी देशको प्रधानमन्त्री भएको भनि विद्यार्थीलाई पढाउने गरेको थियो । नेपाली राष्ट्रियतामाथि गम्भीर आँच पुग्ने गरी भारतीय राष्ट्रियताको पाठ पढाएकाले विद्यालयमा तालाबन्दी गरेको युवा संघका जिल्ला अध्यक्ष शम्भु भण्डारीले जानकारी दिएका छन् । युवा संघले विद्यालयको प्रिन्सिपल र प्रशासन कक्षमा ताला लगाएको हो ।

युवा संघले विद्यालयकी प्रिन्सिपल म्याकडिलिङ सिंहलाई नेपालको झण्डा चिनाउँदै उक्त झण्डा हस्तान्तरण गरेको छ ।
विद्यालयले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई भारतीय प्रकाशनको पाठ्यपुस्तक पढाउने गरेको पाइएको थियो । विद्यालयले ५ सय विद्यार्थीलाई भारतको राष्ट्रियता हाम्रो देशको राष्ट्रियता हो भनि पढाउने गरेको पाइएको छ ।

विद्यालयले भारतीय प्रकाशनका पुस्तकहरु ‘न्यू अंग्रेजी कन्भर्सेसन’ र ‘फन विथ मेन्टल मेथमेटिक्स’ पढाउने गरेको थियो । ‘पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरमा सूचीकृत नभएको भारतीय पाठ्यपुस्तक पढाएर साना बालबालिकालाई हाम्रो देश भारत हो । भारतीय झण्डा हाम्रो हो भन्दै खुल्ला रुपमा भारतीय राष्ट्रियता लाद्ने काम भएको छ’ अध्यक्ष भण्डारीले भने, ‘यस्तो विद्यालयलाई सरकारले कार्बाही नगरेसम्म हाम्रो तालाबन्दी अनिश्चितकालसम्म जारी रहन्छ ।’

भारतीय प्रकाशनको पुस्तक पढाएकोबारे दमक नगरपालिकाको नगर शिक्षा समितिले स्पष्टिकरण सोधेको थियो । २४ घण्टाभित्र बुझाउन भनिएको स्पष्टिकरणमा विद्यालयले भूलबस भारतीय पुस्तक पर्न गएको जवाफ फर्काएको छ । विद्यालयले स्पष्टिकरण पत्रमार्फत एक पटकको गल्तीमा क्षमा माग्दै आगामी दिनमा यस प्रकारको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७