जनतालाई काम गर्ने र गरिखाने वातावरण निर्माणमा कांग्रेस लाग्नु पर्छ : नेता सिंह


२०८० भदौ ७ बिहीबार ०७:५४ बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब कांग्रेसको मूल एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ ले आज यहाँ आयोजना गरेको प्रदेश सम्मेलनलाई उद्घाटन गर्दै उनले अब आर्थिक क्रान्ति कांग्रेसको मूल एजेण्डा हुनुपर्ने बताएका हुन् ।

उनले जनतालाई काम गर्ने र गरिखाने वातावरण निर्माणमा कांग्रेस लाग्नुपर्ने बताए । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीभित्र सबैलाई समान अवसर प्रदान गर्नसकेमात्र कांग्रेस बलियो हुने उल्लेख गरे । ‘कांग्रेस इतिहासको मात्र कुरा गर्छ भन्ने आरोप लागेको छ, इतिहास भएको पार्टीले नै हो इतिहासको कुरा गर्ने’, उनले भने ।

कांग्रेसले जनताको चाहनाअनुसार कार्यक्रम लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले कांग्रेसका जनप्रतिनिधिको कामका आधारमा पार्टी बलियो हुने भएकाले जनतामाझ राम्रो काम गरेर देखाउन जनप्रतिनिधिलाई आग्रह गरे ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनियाले पार्टीका जिम्मेवार पदमा बसेका व्यक्तिले जिम्मेवारबोधका साथ काम गरे पार्टी बलियो हुने धारणा राखे । उनले पार्टीभित्र देखिएका समस्या पार्टीका नेता बसेर नै समाधान गर्नुपर्ने उल्लेख गरे । कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बाँनिया, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेलगायतको उपस्थिति थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७