शिक्षिका राजेश्वरीको सुसाइड नोट : सिन्दुर माग्दा ‘मृत्यु’ उपहार पाएँ


९ भाद्र २०८०, शनिबार
Rajeshwori0

कैलाली । धनगढीको दिपेन्द्र प्रहरी स्कुलमा गत वैशाखदेखि पढाउँदै आएकी थिइन् राजेश्वरी डडाल । स्कुलले आह्वान गरेको दरखास्त बमोजिम आवेदन दिएकी राजेश्वरी छनोट प्रक्रिया पूरा गर्दै करार शिक्षकका रुपमा शिक्षण पेशामा लागेकी थिइन् ।
दार्चुलाको मार्मा गाउँपालिका–६ को सितोली स्थायी घर भइ धनगढी उपमहानगरपालिका–३ स्थित फूपुको घरमा बस्दै आएकी राजेश्वरी दुई साता पहिले बर्खे विदा धनगढीबाट दार्चुला गएकी थिइन् ।

छोरी राजेश्वरी घर आएका बेला उनका बुबा राजेन्द्र डडालले छोरी प्रेम सम्बन्धमा रहेको चाल पाए । राजेश्वरी घरमा भएको बेला उनको मोबाइलमा आएका म्यासेज उनकी दिदी रञ्जना हुँदै बुबासम्म पुगेपछि छोरी प्रेममा रहेको पत्तो पाएका हुन् । उनले छोरीलाई सम्झाए । सीमकार्ड परिवर्तन गर्न भने । छोरीसँग प्रेममा रहेका उनकै छिमेकी तथा नाताले साला पर्ने व्यक्तिसँगको सम्बन्धबारे थाहा पाएपछि उनले मार्मा ६ मौरेका जगदीश कोट्टारीलाई फोनमा यस्तो नगर्न भन्छन् ।

मार्मा गाउँपालिका–६ सितोलीकी राजेश्वरी र सोही वडाकै जगदीशबीचकै प्रेमका कारण अन्ततः राजेन्द्रले छोरी गुमाउनु परेको छ । शिक्षण पेसाबाट स्थापित भन्दै गत वैशाखदेखि दार्चुलाबाट धनगढी आएकी राजेश्वरी बुधबार बिहान मृत भेटिइन् । बुबा राजेन्द्रले अहिले साला नाता पर्ने जगदीशविरुद्ध आत्महत्या दुरुत्साहनविरुद्ध किटानी दिएका छन् । प्रहरीले जगदीशलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

‘जेठो छोरीबाट दुई जनाको सम्बन्ध थाहा पाएपछि मैले दुवैलाई सम्झाईबुुझाई गरेर गलत बाटोमा नलाग्न भनेको थिए । केटालाई फोन गरेर छोरीलाई किन डिस्टर्व गर्छौ भनेको थिए’, राजेन्द्रले भने, ‘उसले हामीबीच त्यस्तो केही पनि छैन भिनाजु भनेको थियो ।’ जगदीश राजेश्वरी नातामा मामा भाञ्जी हुन् । जगदीश विवाहित पनि हुन् । उनीहरुको सम्बन्धबारे थाहा पाएका बुवा राजेन्द्रले छोरीलाई बर्खे बिदा मनाउन दार्चुलाबाट डडेल्धुरास्थित माइलो भाइ गोपालसिंह डडालकोमा पठाएका थिए । ३ भदौमा बर्खे बिदा सकेर धनगढी आएकी राजेश्वरीले तीन दिन पछि अर्थात् ६ गते बिहान सुसाइड नोट लेखेर ज्यान दिइन् ।

‘डडेल्धुराबाट म धनगढी आएको थाहा पाएपछि ऊ पनि आएको रहेछ । उसका ती झुट कुरामा मेरो दया, माया पलायो मैले माने । हिजो राति हामी गोदावरी गएका थियौँ । उसले म सिन्दुुरले आफ्नी बनाउँछु र कसैले अलग्याउन सक्दैन भनेको थियो तर खोइ …आफ्नी श्रीमती भन्न सेक्स गर्नुपर्छ रे यस्तै कुराले म पनि हरेक कुरालाई साँचो मान्दै गए उपहार मैले मृत्यु पाए’, सुसाइड नोटमा राजेश्वरीले लेखेकी छन् ।

आमा र दिदीलाई क्षमा माग्दै लेखेकी छन्, ‘सरी दिदी, मम्मी हजुरहरूले राम्रो चिताउनु तर मैले के गरे ? कुनै पनि सजाय बढि हुने छैन मलाई ।’ मृतकका बुबा राजेन्द्रले साला नाता पर्ने जगदीशकै कारण छोरीले आत्महत्याको बाटो रोजेकाले कानुनअनुसार कारबाहीको माग गरेका छन् । राजेश्वरीले आत्महत्या गर्न अघि यस विषयमा प्रहरीमा पनि मिलापत्र भएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको महिला तथा बालबालिका सेलमा भदौं ५ गते दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा रहेको स्वीकार गरेका थिए । तर, आगामी दिनमा अलग हुने बताएपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । ‘दुवै जना अबदेखि हामीहरू एक अर्कासँग प्रेम सम्बन्धमा बस्दैनौँ भनेर सहमत भएपछि महिला तथा बालबालिका सेलमा कागज गरिएको थियो,’ प्रहरी निरीक्षक बस्यालले सुनाए । तर प्रहरीले मिलापत्र गराएको २४ घण्टा नबित्दै राजेश्वरीले भने आत्महत्याको बाटो रोजिन् ।

आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी परेपछि प्रहरीले कोट्टारीलाई पक्राउ गरेको हो । उनी अखिल क्रान्तिकारीबाट उम्मेदवार भएर दार्चुलाको लटिनाथ क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । घटनाको छानबिन गरी न्याय दिन मृतकका बुवाले अपील गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७