२० वर्षीय युवकको हत्या आरोपमा ‘लादेन’ र ‘बब’ पक्राउ

चितवन । नवलपरासीको देवचुली नगरपालिका–३ घर भई चितवनको भरतपुर नगरपालिका–३ बाह्रघरे बस्दै आएका २० वर्षीय रचन श्रेष्ठको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
श्रेष्ठ बिहीबार धादिङको ताल्ती जंगलमा मृत भेटिएका थिए । उनका बाबु तिलक श्रेष्ठको किटानी जाहेरीका आधारमा पक्राउ परेका दुई जनालाई धादिङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–४ का २५ वर्षीय लादेन भनिने बिनय गौतम र सिराहाको धनगढिमाई नगरपालिका–१ का २१ वर्षीय बब भनिने योगेन्द्र साह छन् ।
गौतमलाई धादिङको गजुरी गाउँपालिका–२ मझुवा डाँडाबाट र शाहलाई इलाका प्रहरी लहानको टोलीले उनकै घरबाट पक्राउ गरिएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका दुबै जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धादिङबाट ९ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको एसपी मिश्रले जानकारी दिए ।
दुबै जनालाई इलाका प्रहरी कार्यालय गजुरीको हिरासतमा राखेर घटनाको अनुसन्धान भइरहेको उनले बताए । साउन ३१ गतेदेखि हराएका रचनको शव एकसातापछि ताल्तीको जंगलमा सडेगलेको अवस्थामा भेटिएको थियो ।