आजको पार्टी एकता मदन भण्डारी र जीवराज आश्रितको सम्मान पनि हो : प्रचण्ड


३ जेष्ठ २०७५, बिहीबार
prachanda
फाइल तस्बिर ।

काठमाडौं, ३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका दिन पार्टी एकता हुन लागेकोमा आफूलाई गर्व लागिरहेको बताएका छन् । prachanda

बल्खुस्थित मदन स्मृति भवनमा विहीबार विहान आयोजित कार्यक्रममा प्रचण्डले मदन भण्डारीकै बेलादेखि आफूले पार्टी एकताको प्रयास थालेको बताउँदै भने, ‘उहाँकै स्मृति दिवशका दिन पार्टी एकता हुँदैछ, ढिलो भए पनि यो गर्वको विषय हो ।’ ‘हामी ऐतिहासिक मोडमा प्रवेश छौं । जुन दिन मदन भण्डारी र जीवराज आश्रितको अवसान भयो, त्यही दिन एकता गर्नुपर्छ भनेको थिएँ’, प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भएको वार्ताबारे उनले खुलाए, ‘निषेधको निषेधको रुपमा, एकता, संघर्ष र रुपान्तरणको रुपमा हामी नयाँ पक्रिया शुरु गर्दैछौं । यो मदन भण्डारी र जीवराज आश्रितप्रतिको सम्मान हो ।’

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको आजकै दिन (२०५० साल जेठ ३ गते) चितवनको दासढुङ्गामा जीप दुर्घटनामा निधन भएको थियो । मदन–आश्रित स्मृति दिवसकै दिन पारेर एमाले र माओवादी केन्द्रले आज एकीकृत पार्टी घोषणा गर्दैछन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ’जनताले इतिहास निमार्ण गर्ने’ तर्क गर्दै मदन भण्डारीलाई ‘नेपाली जनताले जन्माएको प्रतिनिधि नेता’ का रुपमा व्याख्या गरे । ‘उहाँ राष्ट्र, जनता र वर्गप्रति समर्पित भएर जानुभयो । मलाई गर्व छ, मदन–आश्रितको अवसान भएको दिन हामी एकतामा जाँदैछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७