झलनाथको दाबी : अब एसपीपी सम्झौता पनि हुँदैछ, ड्राफ्ट तयार भइसक्यो

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको दावी गरेका छन् ।
आज (सोमबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालको पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । ‘एक जनरलले मलाई के सूचना दिनु भएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नु भएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ,’ उनले भने ।
उनले एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको हो भने किन दस्तावेजहरू लुकाएको भन्दै प्रश्न समेत गरे । ‘एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ? के कारणले लुकाइयो ? दालमा कालो छ भन्नेकुरा त्यहीँबाट थाहा हुन्छ,’ खनालले थपे, ‘कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसीभित्र के–के समस्या छन् भन्ने कुरा स्पष्ट रुपमा राखेका छौँ । नेपाली जनतालाई त्यसपछि थाहा भयो, के–के रहेछन् ।’ खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको पनि बताएका छन् ।