ललिता निवास प्रकरणका थुनुवासँग आज पनि बयान लिइँदै


२०८० भदौ १२ मंगलबार ०७:४९ बजे

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणका प्रतिवादीहरुको बयान आज (मंगलबार) पनि जारी रहनेछ । सोमबारदेखि काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको बयान आज पनि हुने भएको हो ।

सोमबार उक्त प्रकरणमा थुनामा रहेकामध्येका शिव भट्टराई र रूद्रकुमार श्रेष्ठको बयान लिइएको थियो । आज एक पटकमा चार जनाको हुने गरी बयान लिन लागिएको अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिएका छन् ।

जग्गा प्रकरणमा १८ जना थुनामा छन् । पहिलो चरणमा थुनामा रहेकासँग बयान लिएपछि थुनछेक बहस सुरु हुने अदालत प्रशासनले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ५७ दिन लामो अनुसन्धानपछि बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले यस प्रकरणमा आइतबार मुद्दा दर्ता गरेको थियो ।

सीआईबीले प्रतिवेदनमा संगठित अपराधमा र किर्तेमा मुद्दा चलाउन राय प्रस्तुत गरेपनि सरकारी वकिलले भने किर्तेमा मात्र मृत्यु भइसकेका २१ सहित ३११ जनाविरुद्ध मुद्दा चलाएको हो । मृत्यु भएकालाई जग्गा फिर्ता गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो । प्रहरी हिरासतमा रहेका १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७