प्रधानमन्त्रीलाई माधवको आग्रह : एमसीसीमा व्याख्यात्मक टिप्पणी अस्वीकार गरेको भए भन्नुस्


१२ भाद्र २०८०, मंगलवार
14 Shares
Madhav n0epal samajbadi morcha scaled

बुटवल । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकाले एमसस्सीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी अस्वीकार गरेको भए जनतालाई भन्न आग्रह गरेका छन् । समाजवादी मोर्चाले आज (मंगलबार) बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित आफूहरुलाई संसदबाट पारित गर्नुपर्ने बाध्यता आइलागेको बताए ।

त्यसबारे उनको भनाइ जस्ताको तस्तै :

एसीसीका कुराहरु पनि छन्, त्यसलाई इन्डोप्यासिफिक स्टेटेजीको अंग हुन सक्दैन । त्यो भनेको चीनलाई घेराउ गर्ने रणनीति हो । नेपाल कुनै पनि सैनिक गठबन्धनमा सामेल हुन सक्दैन । हामी कसैलाई शत्रु घोषणा गर्दैनौं । हामीले संसदमा १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई एमसीसीको अंग घोषणा गरेर पास गरेका छौं, त्यहाँ हामीले कुनै सैन्य गठबन्धनमा सामेल हुन सक्दैन भनेर । नेपालको भूमिमा नेपालको अधिकार छ । अरुको अधिकार स्वीकार्न सक्दैनौं, नेपालको कानूनभन्दा अरुको कानून माथि हुनु हुँदैन भन्ने १२ वटा विषयलाई अगाडि सारेर ।
हामीले विगतका सरकारबाट भएको कमीकजोरीको कारणले त्यहाँ हामी पुग्नै पर्ने अवस्था भयो । नभए गठबन्धन टिक्ने अवस्था थिएन । यथास्थितिमा पास हुने अवस्था थियो । भोलिदेखि त्यो लागू हुने कुरा सुनिँदैछ । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, त्यसमा कुनै अनुचित कुरा बाँकी छन् भने, हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् । गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् । विदेशीका सामु हामी झुक्नु पर्ने कारण छैन । विदेशीका धम्की हामी स्वीकार्दैनौं । हाम्रो लागि सत्ता प्यारो होइन, देश प्यारो हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७