प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ : मन्त्री किराती


१४ भाद्र २०८०, बिहीबार
Sudan Kirati
फाइल फोटो

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।

आज (बिहीबार) नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन् । उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उनले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने पनि बताए । यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनले बताए ।

‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो। हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो। एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन। भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ,’ उनले भने, ‘भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ ।’

सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने पनि उनले बताए । मन्त्री किरातीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने पनि बताए । ‘राष्ट्रिय सहमतिको सरकारबाट हामीले यो गरिबीको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, अशिक्षाको अन्त्य गर्ने बाटो अवलम्वन गर्नसक्छौँ । राष्ट्रिय सहमतिको सरकार प्रचण्ड नेतृत्वमै बनाऔँ,’ उनले भने, ‘किनभने यही नेतृत्वमै देखियो अप्ठ्यारो परेको बेला निकास दिनसक्ने। उस्तै परे भत्काउन पनि आँट गर्नसक्ने । त्यसो भएको हुनाले यही नेतृत्वमा पहिला राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔं ।’

उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानुनहरु निर्माण गर्दै गरेको पनि बताएका छन् । ‘राष्ट्रमा यति ठूलो संकट छ । राष्ट्रिय सहमतिको सरकार बनाउँदाखेरी थुप्रै राजनीतिक पार्टीहरूले भाग लिदाँखेरी सरकारमा अटाउनुपर्ने अवस्था आयोभने सबभन्दा पहिले हामीले त्याग्न तयार हुनेछौँ । सबभन्दा पहिले म त्याग्न पनि तयार हुनेछु,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७