बिरामी तीन तीर्थयात्रीको सेनाको हेलिकप्टरमार्फत उद्धार


१४ भाद्र २०८०, बिहीबार
63 Shares
Resque bajura birami

बाजुरा । बाजुराको बडी मालिका दर्शन गर्न गएका तीन तीर्थ यात्रीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडी मालिका दर्शन गर्न गएका तीर्थयात्रीलाई लेक लागेर अक्सिजन अभाव भएपछि सेनाको हेलिकप्टरमार्फत आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्म बाजुराले जनाएको छ ।

लेक लागेर अक्सिजन अभावका कारण सिकिस्त बिरामी भएको अवस्थामा फेला परेका कैलालीका एक दम्पती र बडी मालिकाको दर्शन गरेर फर्किएकी जुम्लाकी एक महिलाको घाइते अवस्थामा आज उद्धार गरिएको दुर्गा भञ्जन गुल्मका सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनीहरुको सेनाको मेडिकल क्याम्पमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल बाजुरामा ल्याइएको सेनानी सिंहले बताए । ‘अक्सिजन अभावका कारण अचेत अवस्थामा फेला पारेका कैलालीको अत्तरिया बस्ने ६३ वर्षीय ईश्वरी बोहरा र उहाँकी धर्मपत्नी ५२ वर्षीया गङ्गा देवी बोहरालाई बिहीबार बिहान उद्धार गरिएको हो’, उनले भने ।

सेनानी सिंहका अनुसार बडीमालिकाको दर्शन गरेर घर फर्किने क्रममा त्रिवेणी धाम नजिकै लडेर घाइते भएकी जुम्लाको चन्द्रनाथ नगरपालिका–२ बस्ने ४६ की विनुदेवी बस्नेतको उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

‘यसअघि अक्सिजन अभावका कारण बेहोस् भएर ढलेको अवस्थामा फेला परेका अन्य तीन जनाको गत सोमबार उद्धार गरिएकामा दुईको उपचारका क्रममा मृत्यु भएको छ भने एक जना उपचारपछि घर फर्किनु भएको छ’, सेनानी सिंहले भने । उनका अनुसार मृत्यु हुनेमा कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपाने र त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७