प्रायोजित भाष्य : ‘खराब भनेकै यती, यती भनेकै एमाले’

यस प्रकारको प्रयासहरूले सफलताको जगमा स्थापित हुने उही हो,‘आर्थिक उपनिवेश ।’ सोलुखुम्बुको गरिब किसान परिवारबाट उठेको सोनाम शेर्पाहरूले त अलिकति व्यापार गुमाउलान्, तर यसको मूल्य देश र भावी सन्ततीले कति र कसरी तिर्नु पर्छ ? के यसको हिसाब–किताब गरिएको छ ?


१५ भाद्र २०८०, शुक्रबार
Rajesh Rai 3 scaled

भ्रष्टचारको विरुद्ध र सुशासनको पक्षमा बोल्ने वा लेख्ने जोसुकैले प्रयोग गर्ने साझा शब्द हो, ‘यती–ओम्नी काण्ड ।’ यती अर्थात् यती समूहको यस्तो बिम्ब निर्माण गरिएको छ, की यती भन्ने बित्तिकै आम मान्छेहरूको दिल–दिमागमा भ्रष्टचार, लुट, अनियमितता, कब्जा आदि रिलजस्तै घुम्छ ।

मानौकी, यो देशको सबैभन्दा ठूलो दुश्मन यती समूह हो, यो देश नबन्नुमा यती समूह बाधक छ । यस्तरी ‘माइण्ड फ्रेमिङ’ गरिएको छ, मानौकी देश बनेन, किन भने यो देशमा यती समूह छ । प्रहार त्यही अनुरूप गरिएको छ । योसँगै अर्को न्यारेटिभ (भाष्य) पनि जबरजस्त निर्माण गरिएको छ । त्यो भाष्य हो, ‘यती समूह भनेकै एमाले ।’

‘चिसो भनेकै कोकाकोला’ भने जस्तै ‘खराब भनेकै यती समूह, यती भनेकै एमाले हो’ भन्ने भाष्य निर्माताहरूलाई कसैले पनि सोधेका छैनन् की, एमालेले यतीलाई के दियो वा कति दियो ? यती समूहलाई खराब भनिनुको मानक के हो ?’

सडकमा होस् वा सदनमा, सांसदहरूले होस् वा सञ्चार माध्यमहरूले अथवा अभियान्ता र बुद्धिजीवी जोसुकैले पनि सधैँ भनिरहेका छन्, ‘यती काण्ड अनि एमाले ।’ सबैले सधैँ भनेपछि आम मान्छेको मनोविज्ञान पनि उसैगरी निर्माण भएको छ, ‘खराब भनेकै यती समूह, यती भनेकै एमाले ।’

चिसो भनेकै कोकाकोला’ भने जस्तै ‘खराब भनेकै यती समूह, यती भनेकै एमाले हो’ भन्ने भाष्य निर्माण गरिएको छ । यसको मुल कारण हो, तीन लिज प्रकरण– गोकर्ण फरेस्ट रिसोर्ट, दरबारमार्ग र ताहाचलस्थित सोल्टी आउटर कम्लेक्स लिज प्रकरण । तीन मध्ये गोकर्ण फरेस्ट रिसोर्ट मात्रै एमालेको पालामा लिज नविकरण हो । दरबारमार्ग पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र बिमलेन्द्र निधी गृहमन्त्री रहेको बेला । सोल्टीस्थित आउटर कम्प्लेक्स शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा गृहमन्त्री रहेको बेला । यहाँनिर प्रश्न पहिलो प्रश्न, ‘यतीलाई एमालेसँग मात्रै जोड्न मिल्छ ?’

यती समूहमाथिको आलोचनाको कारण हो, नेपाल ट्रष्टको स्वामित्वमा रहेको तीन लिज प्रकरण । गोकर्ण फरेस्ट रिसोर्ट, दरबारमार्ग र ताहाचलस्थित सोल्टी आउटर कम्लेक्स लिज प्रकरण । अब यहाँनिर प्रश्न उठ्छ की यी तीनैवटा लिज प्रचार भए जस्तो एमाले नेतृत्वको सरकारले नै यती समूहलाई दिएको हो त ?’ के यती समूहले विनाप्रतिस्पर्धा वा गैरकानूनी हिसाबले यी सरकारी जग्गा वा सम्पत्ति लिजमा लिएको हो त ?’

पहिलो प्रश्नमा जाऔं । यति समूहसँग नै जोडिएको कम्पनी थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिएको यी तीनमध्ये एकमात्रै नेकपा (एमाले) नेतृत्वको सरकारसँग जोडिन्छ । त्यो हो, गोकर्ण फरेस्ट रिसोर्ट । एमाले नेतृत्वको सरकारले गोकर्ण फरेस्ट रिसोर्ट लिजमा लगाएको होइन अवधि थप गरिदिएको मात्रै हो ।

२०५२ साउन ३१ मा तत्कालीन राज दरबार (डिपार्टमेन्ट अफ क्राउन प्रोपर्टी रोयल प्यालेस) काठमाडौं र सुबीर ब्रदर्स (नेपाल) प्रालिबीच २०८२ साउन ३१ मा ३० वर्षका लागि गोकर्ण फरेस्ट रिसोर्टको २ हजार सात सय ९२ रोपनी जग्गा लिजमा दिने सम्झौता भएको थियो ।

२०६३ राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएपछि पूर्वराजपरिवारको सम्पत्ति व्यवस्थापन गर्न २०६४ पुस २२ गते नेपाल ट्रष्ट ऐन जारी भयो । उक्त ऐनबमोजिम ट्रस्ष्ट स्थापना भएपछि राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको देहावसान हुँदाका बखत उनीहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई नेपाल ट्रष्टमार्फत व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्ने गरी नीति ल्याइयो । सोहीअनुसार गोकर्ण फरेस्ट रिसोर्टका सुबीर ब्रदर्सलाई ३० वर्षका लागि लिजमा दिएको २ हजार ७ सय ९२ रोपनी जग्गा पनि ट्रष्ट मातहत आयो । सुबीर ब्रदर्सले २०६७ साउनमा गोकर्ण रिसोर्टको ४९ प्रतिशत शेयर यती होल्डिङ्स प्रालिलाई ७६ करोड रूपैयाँमा बिक्री गर्‍यो । पछि विभिन्न प्रक्रियामार्फत यती होल्डिङ्स प्रालिले सबै शेयर खरिद गरेका थिए । हो, त्यही २०५२ साउन ३१ मा लिज दिइएको गोकर्ण फरेस्ट रिसोर्टलाई २०७६ पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले लिज अवधि नेपाल ट्रष्ट ऐन अनुसार थपेको थियो ।

थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिएको तीनमध्ये दरबारमार्ग र ताहाचलको कथा फरक छ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री र तत्कालीन एमाले नेता बामदेब गौतम गृहमन्त्री रहेको २८ साउन २०७१ म बसेको मन्त्रीपरिषद्को बैठकले ताहाचल सोल्टी आउटर कम्प्लेक्स र दरबार मार्गको जग्गा लिजआउट गर्ने गरी वार्षिक कार्यक्रम र बजेट स्वीकृत गरेको थियो ।

यसका लागि सुरूमा ६ वटा कम्पनीहरूले बोलपत्र फारम भरी प्रस्तावहरू पेश गरेर प्रतिस्पर्धा गरेका थिए । ५ वैशाख २०७४ मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र कांग्रेस नेता विमलेन्द्र निधी गृहमन्त्री रहेको बेला थामसेर्कु ट्रेकिङ प्रालिलाई दरबार मार्गको जग्गा लिजमा दिने प्रस्ताव स्वीकृत भयो ।

यता ताहाचलको सोल्टीस्थित आउटर कम्प्लेक्स थामसेर्कु ट्रेकिङ प्रालिलाई दिने निर्णय १३ कात्तिक २०७४ मा भयो । त्यतिबेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा गृहमन्त्री थिए ।

यहाँनिर घाम जस्तै छर्लङ्ग छ, यती समूहले पाएको तीन लिज क्रमशः तीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली, सुशील कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पालामा सम्झौता भएको हो । तर, यती समूहसँग जोडिन्छ, केवल नेकपा (एमाले) र उसको अध्यक्ष केपी शर्मा ओलीलाई मात्रै । त्यहीअनुसार भाष्य निर्माण गरिएको छ ।

यसको मतलब यती समूह खराब हो, एमाले र उसको अध्यक्ष ओलीसँग मात्रै जोड्नु हुन्न भन्न खोजिएको कदापी होइन । यस प्रकारको भाष्य निर्माणको उद्देश्य के हो ? त्यसको उत्तरमात्रै खोजी गरिएको हो ।

के यो देश सोनाम शेर्पाहरूको होइन ?

sonam sherpa

हो, आम मान्छेहरूको दिल–दिमागमा हालिएको छ, ‘यो देश यती समूहले मात्रै लुटिरहेको छ ।’ र, प्रोपोगाण्डा गरिएको छ, ‘यती समूहका सोनाम शेर्पाहरू सबैभन्दा ठूलो भ्रष्ट हुन् । उसको संरक्षक एमाले अध्यक्ष केपी शर्मा ओली हो ।’ यती समूहको अध्यक्ष हुन्, ल्हाक्पा सोनाम शेर्पा ।

त्यसो त सोनाम एमाले अध्यक्ष ओलीसँग नजिक छन् । तर, उनको सम्बन्ध व्यापारिक होइन । भावनात्मक सम्बन्ध हो ।

भन्छन्, ‘केपी ओलीसँग र एमालेसँग हाम्रो परिवारको सम्बन्धमा मदन भण्डारी र पासाङ ल्हामु शेर्पा जोडिएका छन् । पहिलो महिला सगरमाथा आरोहीका रूपमा पासाङलाई मदन भण्डारीले झण्डा दिएर बिदाई गर्नु भएको थियो । दुःखद संयोग दुवैजनाको शवयात्रा एकै पटक भयो । यो भावनात्मक सम्बन्ध हो ।’

००

सोनामको भरोसा र शक्ति उनका भाइ आङछिरिङ थिए । जसले तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा १५ फागुन २०७५ मा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामू गाउँपालिका–१, पाङ्गोमको गरिब परिवारमा जन्मिएका सोनामको संघर्ष कथा प्रेरणादायीमात्रै छैन असाधारण र अद्भूत पनि छ । पर्यटकका भारी बोकेर संघर्ष सुरू गरेका सोनामले पर्यटन व्यवसायमा आफ्नो बेग्लै साम्राज्य विस्तार गरेका छन् । त्यही भएर उनी घरी न घरी सबैको तारो बन्छन् ।

पर्यटकको भारी, बाटो र भान्सा सम्हाल्दा सम्हाल्दै २०४५ सालमा थामशेर्कु ट्रेक तथा एक्सपेडिसन कम्पनी खोलेर व्यवसाय सुरू गरेका सोनामको कथा रोमाञ्चकमात्रै होइन पीडदायी पनि छ । उनले आफ्ना प्रियजनहरूलाई गुमाए ।

यस्ता अनेकौं उदाहरणहरू छन् । एउटै व्यापारिक समूहले सरकारको दर्जनौं ठाउँमा सरकारी जग्गा कब्जा गरेका छन् । सरकार जग्गा कब्जा गरिनु ठीक हो भन्ने होइन तर प्रश्न हो, ‘यहाँ सोनाम शेर्पाहरूविरुद्ध मात्रै किन भ्रष्टको भाष्य निर्माण गरिन्छ ?’

सन् १९९२ मा सगरमाथा पर्वतारोहणका क्रममा उनकी श्रीमती पासाङल्हामु शेर्पाको ज्यान गयो । पासाङल्हामु सगरमाथा आरोहण गर्ने प्रथम महिला हुन् । उनी नेपालको राष्ट्रिय विभूतिसमेत हुन् । कान्छा भाइ आङटेण्डी शेर्पा सन् २००१ मा उच्च हिमाली क्षेत्रमा फँसेका पर्यटकको उद्धारको प्रयास गरिरहँदा हेलिकप्टर दुर्घटनामा परेर बिते ।

सोनाम कुनै धनी बाउका छोरा थिएनन् । पिताजीको बायोडाटाको शक्तिले व्यापारमा आएका पनि होइनन् । कुनै दूतावास र दातृ निकाय वा शक्ति केन्द्रको तागतले साहुजी भएका पनि होइनन् । सोलुखुम्बुको गरिब शेर्पा बस्तीमा गरिबी, अशिक्षा र भोकमरीसँग लड्दा–लड्दै स्थापित उद्यमी हुन् । न त उनको समूहमा आयतित लगानी छ । पैतलाहरूले हिमालहरू नापेर पसिनाको बलमा उभिए उभिएको हो । तर, आज माथि उल्लेखित तीन लिज प्रकरणले उनको खराब बिम्ब निर्माण गरिएको छ । एक हिसाबले यति बिम्बको दानवीकरण गरिएको छ ।

यहाँनिर एउटा बहस गरौं, के नेपालमा यसरी सरकारी जग्गा लिजमा लिने के सोनाम शेर्पा र उनको समूहमात्रै हो ? उत्तर सहज छ, होइन । नेपाल ट्रष्ट अन्तर्गतमात्रै काठमाडौंमा मात्रै फरक–फरक ठाउँका १९ वटा जग्गा लिजमा लगाएको छ, ललितपुरलगायतका जिल्लाको अलग–अगल ठाउँमा १२ स्थानका जग्गा लिजमा लगाइएको छ ।

नेपाल ट्रष्टमात्रै सरकारले विभिन्न ठाउँमा कौडीको भाउमा सरकारी जग्गा लिजमा दिएको छ । कतिपय ठाउँमा त जबरजस्ती हडपिएको छ । एउटा उदाहरण हेरौं, नेपालको अर्को व्यापारिक घराना चौधरी ग्रूप । जसको नेतृत्वकर्ता विनोद चौधरी माननीय पनि छन् । चौधरी ग्रूपले मात्रै करिब दुई दर्जन बढी स्थानमा सरकारी जग्गा कौडीको भाउमा लिजमा लिएका छन् । चौधरी ग्रूपले कब्जा गरेको अमलेखगंजस्थित आयल निगमको नाममा रहेको १२ विघा होस् वा सुनसरीको दुहबी नगरपालिकाको स्वामित्वमा रहेको ११ कठ्ठा १३ धुर जग्गा, बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा अथवा ललितपुर महानगरपालिकास्थित पुल्चोकमा रहेको सरकारी जग्गा कब्जा । ललितपुरको पुल्चोकस्थित हरिहरभवनको राष्ट्रिय सहकारी बोर्डको १४ रोपनी जग्गा होस् वा ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको साझा पक्राशन अगाडिको र भूपू सैनिक संघसगँ जोडिएको सरकारी जग्गा ।

सोनाम कुनै धनी बाउका छोरा थिएनन् । पिताजीको बायोडाटाको शक्तिले व्यापारमा आएका पनि होइनन् । कुनै दूतावास र दातृ निकाय वा शक्ति केन्द्रको तागतले साहुजी भएका पनि होइनन् । सोलुखुम्बुको गरिब शेर्पा बस्तीमा गरिबी, अशिक्षा र भोकमरीसँग लड्दा–लड्दै स्थापित उद्यमी हुन् । न त उनको समूहमा आयतित लगानी छ । पैतलाहरूले हिमालहरू नापेर पसिनाको बलमा उभिए उभिएको हो

यस्ता अनेकौं उदाहरणहरू छन् । एउटै व्यापारिक समूहले सरकारको दर्जनौं ठाउँमा सरकारी जग्गा कब्जा गरेका छन् । सरकार जग्गा कब्जा गरिनु ठीक हो भन्ने होइन तर प्रश्न हो, ‘यहाँ सोनाम शेर्पाहरूविरुद्ध मात्रै किन भ्रष्टको भाष्य निर्माण गरिन्छ ?’

अहिलेको प्रमुख लडाइँ दलाल पूँजीपति र राष्ट्रिय पूँजीपतिबीचको पनि हो । सोनाम शेर्पाहरू राष्ट्रिय पूँजीपति हुन् । लाखौंलाई रोजगारी मात्रै दिएका छैनन्, ट्रेकिङ, होटल, एअरलाइन्स अनेकमार्फत राष्ट्रिय पूँजी निर्माणमा योगदान गरिरहेका छन् ।

अहिले हाम्रो राजनीतिक दलहरू भनिरहेका छन्, अब समाजवादको आधार निर्माण । समाजवादको आधार निर्माणको पहिलो आधार राष्ट्रिय पुँजीको विकास हो ।

यहाँनिर एउटा तथ्य खुलस्तै छ, दलाल पुँजीपतिहरूले आफ्नो उद्देश्य पूरा गर्न मिडियाको दुरूपयोगलाई तीव्र बनाएका छन् । हामीकहाँ दलाल पुँजीपतिहरूले मिडियाको बढी प्रयोग वा दुरूपयोग गरेको देखिन्छ । मिडिया प्रयोगमार्फत दलाल पूँजीपतिहरूले राष्ट्रिय पूँजीपतिहरूलाई ह्यारेस्मेन्ट गर्ने, मनोबल घटाउने र उनीहरूको समाजमा गलत बिम्ब निर्माण गरिदिने काम गरेको देखिन्छ ।

मिडियाको प्रयोगमार्फत दलाल पूँजीपतिहरूले राष्ट्रिय पूँजीपतिहरूको गलत बिम्ब बनाएर आम मान्छेको ‘माइन्ड फ्रेमिङ’ गरीदिने गरेको तथ्य भेटिन्छ । अर्थात् दलाल पूँजीपतिहरू ठीक, राष्ट्रिय पूँजीको विकासमा लागेको चाहिँ बेठीक भन्ने मानक जबरजस्त स्थापित भइरहेको देखिन्छ ।

हो, यसैको शिकार बनिरहेका छन्, सोनाम शेर्पाहरू । त्यसो त सोनामको मन पनि घरी–घरी असाध्यै अमिलो हुँदोरहेछ ।

भन्छन्, ‘हामीले खुल्ला प्रतिस्पर्धाबाट लिजमा लिएका हौं । त्यसलाई आधार बनाएर पटक–पटक आक्रमण गरिन्छ । कहिलेकाहीँ त यतीको नामै फेरौंजस्तो लाग्छ ।’

हामी एउटा बिषयमा गर्व गछौं, ‘हाम्रो मुलुक कहिल्यै पनि कसैको उपनिवेश भएन ।’ हामी भन्छौं, ‘स्वतन्त्रता दिवस मनाउनु पर्ने बाध्यता हामीसँग छैन ।’ उपनिवेश नहुनुको गर्व एकातिर छ । तर, यो चाहीँ सत्य हो– नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सुगौली सन्धिपछि नेपालमा अघोषित राजनीतिक उपनिवेश सुरू भयो । पछिल्लो समयमा आर्थिक उपनिवेशको तयारी र अभ्यास भइरहेको छ । यसको कथा पछि लेखौंला ।

यही तयारी र अभ्यास अन्तरगत नै ‘यती र एमाले’ भाष्य निर्माण गरियो । उनीहरूको अबको प्रयास हो, ‘प्रोपोगान्डामार्फत सोनाम शेर्पाहरूको दानवीकरण अनि नगरा पिटेर सोनाम शेर्पाहरूको सपनाको मलामी ।’

यस प्रकारको प्रयासहरूले सफलताको जगमा स्थापित हुने उही हो,‘आर्थिक उपनिवेश ।’ सोलुखुम्बुको गरिब किसान परिवारबाट उठेको सोनाम शेर्पाहरूले त अलिकति व्यापार गुमाउलान्, तर यसको मूल्य देश र भावी सन्ततीले कति र कसरी तिर्नु पर्छ ? के यसको हिसाब–किताब गरिएको छ ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७