बागमती नदीमा आज र्याफ्टिङ र्याली, हेर्न पाइनेछ ४५ बोटको लस्कर

काठमाडौं । बागमती नदीमा आज (शनिबार) विशेष र्याफ्टिङ र्याली गरिँदै छ । काठमाडौंंको गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलबाट सुरु गरी करिब २५ किलोमिटर तल कीर्तिपुर नगरपालिकाको चोभारसम्म र्याफ्टिङ गर्न लागिएको हो । बिहान ७ः३० देखि हुने जलयात्राका क्रममा बागमती नदीमा ४५ वटा बोटका लस्कर हेर्न पाइने भएको छ ।
सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटरको यात्रापछि पहिलो चेक पोइन्ट सकिने जनाइएको छ । अनि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म ५ किलोमिटरसम्म र्याफ्टिङ हुनेछ । सोही मन्दिरबाट पहेंलो पुलसम्म ४ किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्टको अन्त्य हुनेछ । त्यहाँबाट ८ किलोमिटरको यात्रा नै अन्तिम चेक पोइन्ट हुने छ, जुन चोभारमा गएर टुङ्गिने छ । नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले यात्रा साँझ ५ः३० सम्म चल्ने जानकारी दिएका छन् । प्रत्येक बोटमा एक गाइडसहित जनप्रतिनिधि र स्थानीयवासी गरी ६ जना हुनेछन् ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा हुन लागेको र्याफ्टिङ र्यालीको उद्देश्य र्याफ्टिङ खेलको प्रवर्धन एवं बागमती नदीलाई स्वच्छ राख्नु रहेको जिसस काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिएका छन् । यो अभियानमा काठमाडौं महानगरपालिकासहित १० वटै पालिकाले साथ दिने उनले विश्वास व्यक्त गरे ।
यसअघि गत शनिबार नेपाल नदी संरक्षण संस्था, नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिस (नारा) र फेन्ड्स क्लब कुपन्डोलको संयुक्त आयोजनामा बागमती नदीमा र्याफ्टिङ गरिएको थियो । ललितपुरको कुपन्डोलस्थित बागमती पुलछेउबाट बिहान ७ बजेदेखि सुरू भएको महाजलजात्र सुन्दरीघाटसम्म पुगेर टुङ्गिएको थियो । तर, आज हुन लागेको जलयात्रा त्योभन्दा निकै लामो दूरीको हुनेछ ।