नेपालका २६ जिल्ला सर्पदंशबाट अति प्रभावित, एक वर्षमा ६,४६७ जनाको उपचार


१६ भाद्र २०८०, शनिबार
Snack goman Dang scaled
फाइल फोटो

काठमाडौँ । नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका छ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ । मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९/८० मा सर्पले डसेर आएका छ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो ।

तीमध्ये सेनाको पूर्ण स्वामित्वमा पाँच, सेना–स्थानीय निकाय र जनस्वास्थ्य कार्यालयको सहकार्यमा १४ तथा सेना र स्थानीयबीचको समन्वयमा चार वटा सर्पदंश केन्द सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सर्पदंशबाट अतिप्रभावित २६ मध्ये १८ जिल्लामा सञ्चालित ती २३ केन्द्रमा २४ सैँ घण्टा सैनिक जनशक्ति परिचालित भई प्रदान गरिएको उपचार सेवाबाट सर्पले टोकेर हुने मृत्युदर घटाउन ठूलो सहयोग पुगेको छ । नेपालका तराईका सम्पूर्ण तथा भित्री मधेसका केही जिल्लालाई विषालु सर्पको बिगबिगीका हिसाबले जोखिम मानिन्छ ।

विषालु सर्पले डसेमा तुरुन्तै उपचार प्राप्त नभएमा बिरामीको ज्यानै जाने जोखिम उच्च रहन्छ । ती उपचार केन्द्रमार्फत सेनाको सहयोगमा हालसम्म एक लाख १६ हजार तीन सय ५१ जना सर्पले टोकेर आएका बिरामीको उपचार भइसकेको छ । सोबाहेक सेनाका क्षेत्रीय अस्पताल, फिल्ड एम्बुलेन्स गुल्म र विभिन्न युनिटमा रहेका स्वास्थ्योपचार कक्षले समेत आवश्यकता र स्रोत साधनको उपलब्धताअनुसार सर्पदंश, बिच्छी, खजुरोलगायतका किराले टोकेर आएका बिरामीलाई सेवा प्रदान गर्दैआएको छ ।

झापाको चारआली, मोरङको कालापानी–लेटाङ, सुनसरीको इटहरी ब्यारेक, उदयपुरको बेलका, कटारी र भुल्के, सप्तरीको कल्याणपुर, सिरहाको बन्दीपुर र चौहर्वा, धनुषाको महेन्द्रनगर ब्यारेकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छ । झापाको चारआली र कपिलवस्तुको गोरुसिङ्गेमा विसं २०६० मा स्थापना भएका सर्पदंशसम्बन्धी पुराना उपचार केन्द्र हुन् भने महोत्तरीमा स्थापित केन्द्रले सबैभन्दा बढी उपचार सेवा प्रदान गर्दै आएको छ । विसं २०७१ मा स्थापना गरिएको महोत्तरीको बर्दिवासमा रहेको केन्द्रले सर्पले टोकेर आएका ३० हजारभन्दा बढी बिरामीलाई उपचार सेवा प्रदान गरिरहेको छ ।

सर्लाहीको लालबन्दी, पर्सा ठोरीस्थित निर्मलबस्ती, नवलपरासीको त्रिवेणी, कपिलवस्तुको गोरुसिङ्गे र बहादुरगञ्ज, दाङको गढवा, प्युठानको स्वर्गद्वारी–दिवाङ, बाँकेको ओभरी र इमामनगर ब्यारेक, बर्दियाको ठाकुरबाबा, कञ्चनपुरको अर्जुनी र कैलालीको गौरीगङ्गामा सर्पदंश उपचार केन्द्र सेनाको सहकार्यमा सञ्चालनमा छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी मानिसलाई सर्पले डस्ने गरेको तथ्याङ्क छ । वार्षिकरुपमा एक हजारभन्दा बढीको सर्पदंशका कारण निधन हुने गरेको छ । नेपालमा खासगरी विभिन्न प्रजातिका गोमन र करेत सर्प बढी विषालु मानिन्छ ।

स्वास्थ्य विभागका तथ्याङ्कअनुसार नेपालका २६ जिल्लालाई सर्पदंशबाट अतिप्रभावित मानिएको छ । झण्डै ९० प्रजातिका सर्प यहाँ पाइन्छ । त्यसमध्ये १७ देखि २० प्रजातिका सर्पलाई विषालु मानिन्छ । पर्याप्त सचेतना र उपचारको अभावमा बर्सेनि एक हजारभन्दा बढी सर्वसाधारणको सर्पले टोकेर ज्यान गुमान परेको छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा सर्पदंशबाट हुने विश्वव्यापी मृत्यु तथा अपाङ्गतालाई ५० प्रतिशतले घटाउने लक्ष्य लिएको छ । नेपालमा सर्पदंश जोखिम न्यूनीकरणका लागि सरकारको प्रयासमा सेना जोडिएको छ । सोहीक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रमार्फत उपचारालाई छिटो र प्रभावकारी बनाउँदै सेनाले हजारौँको ज्यान जोगाउन सफल भएको छ ।

अधिकांश सर्प उपचार केन्द्र सैनिक ब्यारेकसँगै सञ्चालनमा रहेकाले बिरामीले सहज र सुरक्षित महसुस गर्दैआएका छन् । सर्पको टोकाइबाट बच्न खाटमा सुत्ने, झुल हाल्ने, जुत्ता लगाउने, राति हिँड्नु परेमा उज्यालो बालेर मात्र हिँड्ने, घर वरपरका प्वाल बन्द गर्ने र झारपात हटाउनुपर्ने हुन्छ । कदम कदाचित सर्पले टोकी हालेमा बिरामीलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पु¥याउन सक्नु नै बुद्धिमानी हुन्छ । सेनाले सर्पले डसेपछि उपचार गर्ने मात्र नभई समय–समयमा सामुदायमा पुगेर सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७