साथीको हत्या आरोपमा दुई जना पक्राउ


१६ भाद्र २०८०, शनिबार
252 Shares
thumb

काभ्रे । साथीको हत्या आरोपमा दुई युवकलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । भदौ १२ गते बिहान ८ः२५ बजेतिर बेथानचोक गाउँपालिका–२ ढोलखोलामा दोलखाको मेलुङ गाउँपालिका–१ घर भई हाल पेप्सिकोला बस्ने वर्ष २८ को निर्मल बुढाथोकीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा निर्मलको हत्यामा संलग्न उनका साथी दोलखाको सैलुङ गाउँपालिका–८ घर भएका वर्ष २६ का सुजन उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार, प्रहरीले सुजनलाई भदौ १३ गते काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो ।

घटनाबारे प्रारम्भिक सोधपुछपश्चात् निर्मल र सुजन लागूऔषध एवं गाँजा खरिद गर्नका लागि बेथानचोक गएको र बेथानचोकस्थित तीर्थराज तिमल्सिनाको घरमा बास बसेको जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिएका छन् । त्यसपछि प्रहरीको टोलीले उक्त स्थानमा तत्काल खानतलासी गर्दा तीर्थराजको घरको कोठाबाट सुजन उप्रेतीको झोला, पासपोर्टसहित प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९.७७ किलोग्राम फेला परेपछि घरधनी तीर्थराजलाई पनि भदौ १३ गते नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकको अनुमतिले निर्मलको हत्यामा संलग्न सुजनलाई ज्यानसम्बन्धी कसुर मुद्दामा पाँच दिन म्याद थप गरिएको र तीर्थराजलाई लागूऔषध मुद्दामा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७