मेयर बालेन्द्रको चेतावनी : महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाई दिन्छु


१७ भाद्र २०८०, आईतवार
Balen 1

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले सिंहदरबारमा आगो लगाई दिने चेतावनी दिएका छन् । श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै उनले सिंहरबारमा आगो लगाउने धम्की दिएका छन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई ‘चोर’ को संज्ञा समेत दिएका छन् ।

शनिबार बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोश शनिबार साँझ सामाजिक सञ्जालमा पोखेका छन् । फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहरदरबार आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
शनिबार राति नौ बजेतिर बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षकले रोकपछि आक्रोश पोखेका छन् ।

नौ बजे प्रहरी नायब निरीक्षक सुशील न्यौपानेले बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चेक गरेर बिदाको दिन चलाउने अनुमति पत्र मागेका थिए । ‘सिनियर प्रहरीले बिदाको दिन गाडी चलाउने अनुमति माग गरेको हो । अनुमति थिएन,’उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआइजी पोषराज पोखरेलले भने, ‘बढीमा २ देखि ३ मिनेट मात्रै रोकिएको हो । केही भएको छैन ।’ सरकारी गाडी रोकेर कहाँको गाडी, गाडीमा को छन् ? भनेर सोधखोज मात्रै गरेको चेकिङमा खटिएका एक प्रहरीले जानकारी दिए ।

‘तीब्रगतिमा पनि थियो । सरकारी गाडी रोकेर सोधखोज गर्दा ड्राइभरले हामीलाई उल्टै काठमाडौं महानगरको गाडी किन रोकेको भनेर थर्कायो,’ ती ट्राफिक प्रहरीले सुनाए, ‘गाडी पछाडि महिला थिए । सोधखोज गर्दा ड्राइभरले म्याडम हो भन्थे । हामीले चिट समेत नकाटी छाड्यौं ।’ ट्राफिक प्रहरी कार्यालयले गाडी छाडेको केही समयमा काठमाडौं महानगरपालिकाका मेयर शाहले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई फोन गरेर ट्राफिक प्रहरीले गाडी रोकेको भन्दै उल्टै थर्काएको स्रोतले जनाएको छ । बस्नेतले गाडी रोकेको विषयमा सोधपुछ गर्न काठमाडौं प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७