ठोरीमा मान्छे मार्ने पाटेबाघ डार्ट गरेर नियन्त्रण

पर्सा । पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएको पाटे बाघलाई पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट खटेको टोलीले ठोरी गाउँपालिका–५ बाघमोर्चा छघरे नजिककै खोल्साबाट पाटेबाघ नियन्त्रणमा लिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भीमबहादुर पाख्रिनले जानकारी दिए । निकुञ्जबाट निस्केको उक्त पाटेबाघको आक्रमणबाट यहि भदौ १३ गते स्थानीय ५५ वर्षीय कान्छा दोङको मृत्यु भएको थियो ।
सोही दिन दोङको एउटा गोरु पनि बाघले मारेको थियो । बाघ नियन्त्रणमा लिनका लागि भदौ १४ गतेदेखि नै प्रयास थालिएकामा शनिबार डार्ट गरेर नियन्त्रण गरिएको अध्यक्ष पाख्रिनले जानकारी दिए । बाघ नियन्त्रणका लागि निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी एवं हात्ती प्रयोग गरिएको थियो । रासस