जुम्लामा जीप दुर्घटना : चालक र सहचालकको मृत्यु

जुम्ला । जुम्लाबाट मुगुका लागि छुटेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु ज्यान गएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ स्थित छलपुनेरा नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । नाग्म–मुगु सडक खण्डअन्तर्गत छलपुनेरा नजिक भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान करिब ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी चालक र सहचालक दुवै जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले जानकारी दिए।
उनले भने, ‘चालक र सहचालकको सनाखत हुन सकेको छैन । जिल्लाबाट घटनास्थल पुग्न धेरै टाढा छ । मुगुबाट प्रहरीको टोली आउँदै छ । त्यो प्रहरी टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउला ।’ जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । जीपमा चालक र सहचालक मात्रै सवार थिए । दुर्घटनाको कारण खुलेको छैन ।