लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा


१७ भाद्र २०८०, आईतवार
Prithivi highway pahiro
फाइल फोटो

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे–सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन् ।

मर्दी हिमाल पदयात्रा मार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले बन्द हुँदा स्थानीयसहित पर्यटकले समेत सास्ती व्यर्होनु परेको हो । पहिराले माछापुच्छे्र गाउँपालिका–८ र ९ दुई वडाका नागरिक प्रभावित बनेका हुन् । यी दुई वडा यहाँका पर्यटकीय क्षेत्र समेत हुन् ।

लुम्रे-सिदिङ सडकखण्डको घलेलस्थित केसवाङको घुम्ती र नागीमा पहिरो खसेको हो । ठूला ढुङ्गासहित माथिबाट खसेको पहिराले सडक पूर्णरूपमा बन्द भएको छ । माछापुच्छ्रे–९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जेसिबी लगाएर पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिए पनि सफल नभएको बताए । सो पहिरो पन्छाउन ठूलो चेनवाला मेसिन चाहिने भएको र गाउँमा उपलब्ध नभएकाले बाटो खुलाउन समय लागेको बताए ।

उनले भने, ‘ठूला–ठूला ढुङ्गा खसेर सडक अहिले पूरै बन्द छ । खुलाउने प्रयास गरेका थियौँ तर जेसिबीबाट पन्छाउन सम्भव भएन । पोखराबाट ठूलो मेसिन लिएर गएर सडक खुलाउनुको विकल्प छैन ।’ सडकको पहिरोमात्र पन्छाउनका लागि गाउँपालिकाले रु ७५ हजार लागत अनुमान गरेको छ । तर गाउँमा ठूलो मेसिन उपलब्ध नहुँदा बजारबाट लैजानुपर्ने बाध्यता रहेकाले लागत बढ्ने अनुमान गरिएको छ ।

‘पोखराबाट ठूलो मेसिन गाडीमा राखेर ल्याउन-लैजान मात्र भाडा रु एक लाख हाराहारी लाग्छ । लागत अनुमानमा त्यो रकम समावेश छैन । त्यसैले बजेट अभावमा समेत पहिरो पन्छाउन ढिलाइ भएको हो’, वडाध्यक्ष क्षेत्रीले भने । पहिरोले घलेल, कालिमाटी र सिदिङका स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका छन् ।

स्थानीयवासीसहित मर्दी पदयात्रामा जाने केही पर्यटकले समेत बाटोका कारण दुःख पाएको बताइन्छ । वडाध्यक्ष क्षेत्रीले पदयात्रा पर्यटनको अहिले ‘अफसिजन’ रहेकाले पर्यटक आगमन न्यून रहेको बताए । पर्यटकलाई दुःख नहोस् भनेर सैँतीघट्ट हुँदै जाने-आउने व्यवस्था गरिएको र सोहीअनुसार सूचना गरिएको उनले जानकारी दिए । सो स्थानमा यसअघि पनि पहिरोले दुःख दिने गरेको थियो । आर्थिक वर्ष २०७८/७९ मा रु १० लाख लागतमा पहिरो नियन्त्रणको काम गरिए पनि यस वर्षको पहिराले क्षति पुर्‍याएको बताइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७