एसपीपछि डीआइजी सरुवाको तयारी, आइजीपी सर्वेन्द्र खनाल निरीह


४ जेष्ठ २०७५, शुक्रबार
final igp sarbendra khanal and monoj khanal

काठमाडौं, ४ जेठ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल गृहमन्त्री रामबहादुर थापा र उनका आसेपासेका अगाडि निरीह सावित भएका छन् । एसपी सरुवामा अडान राख्न नसकेका उनले महानगरीय आयुक्त कार्यालयमा अक्षम र बदनाम डीआइजी मनोज न्यौपानेलाई सरुवा गर्ने तयारी गरेका छन् । final igp sarbendra khanal and monoj khanalआइजीपी सर्वेन्द्र खनाल र मनोज न्यौपाने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदच्यूत भएका लोकमानसिंह कार्कीका भान्जीज्वाई मनोज न्यौपानेलाई आइजीपी खनालले महानगरीय आयुक्त कार्यालयको निमित्त प्रमुखमा सरुवा गर्न लागेका छन् ।
महानगरीय आयुक्त कार्यालयमा २०७४ चैत २८ मा एआइजी जयबहादुर चन्द अवकाश भएपछि एसएसपी पूर्णचन्द्र जोशीले निमित्त चलाउँदै आएका छन् । दरबन्दी कति बनाउने भन्ने कुरामा सहमति नभएकाले तत्काल एआइजी बढुवा हुन नसकेकाले डीआइजी पठाउने तयारी छ ।

डीआइजीमा सक्षम र काविल केदार रिजाललाई पठाउने योजना आइजीपी खनालको थियो । तर गृहमन्त्रालयले लोकमानका ज्वाई न्यौपानेलाई पठाउन दबाब दिएपछि उनी टिक्न नसकेको समाचार छ । न्यौपाने नारायणी अन्चल प्रहरी प्रमुख हुँदा ५० हजार घुसकाण्डमा परेका थिए । उनले ब्यापारीसँग ५० हजार रुपैयाँ घुस खाएको प्रमाणित हुँदा पनि तत्कालीन अख्तियार प्रमुख उनका मामाससुरा भएकाले उनी निलम्बनमा परेनन् । सरुवा पनि भएन । यस्ता विवादित डीआइजी न्यौपानेलाई पूर्वएआइजी केशरीराज घिमिरेले नेकपाका अध्यक्ष प्रचण्डकोमा लगेर भेट गराई महानगरीय आयुक्त कार्यालयमा सरुवा गर्ने बातावरण मिलाएको समाचार छ ।

तत्काल एआइजी बढुवा सम्भव नभएकाले आइजीपी खनालले ३ नम्बर प्रदेशमा डीआइजी दीपक थापा, ४ मा शेरबहादुृर बस्नेत, सीआइबीमा नारायण खड्का, १ नम्बर प्रदेशमा केदार रिजाल, धिरु बस्नेतलाई हेडक्वाटरको अपराध अनुसन्धान विभाग, एकेडेमीमा पुस्कर कार्कीलाई पठाउने तयारी गरेको समाचार छ । ट्राफिक प्रहरी महाशाखाको प्रमुख पनि रिक्त छ । महाशाखामा एसएसपीको दरबन्दी राख्ने कि डीआइजी राख्ने भन्ने छलफल भइरहेको स्रोतले बताएको छ ।

आइजीपी खनाल एसपी सरुवामै चुकेको भनेर आलोचना भइरहेको छ । एसपी सरुवामा गृहमन्त्री थापाले पठाएको सूचीका आधारमा उनले सरुवा गरेका कारण कास्की, सिन्धुली जस्ता जिल्लामा बदनामहरुले इन्चार्ज भएका छन् । आइजीपी हुनासाथ उनले ब्यवसायिक र दाग नलागेकाहरुको सरुवा गर्ने अडान राख्न नसकेको प्रहरी अधिकारी बताउँछन् ।

संगठनको साख बचाउनका लागि लागूऔषध कारोबारीसँग घुस लिएर निलम्बनमा परेका र रक्तचन्दन तस्करीको आरोप लागेकालाई जिल्लाको इन्चार्ज नबनाएको भए हुन्थ्यो, प्रहरी अधिकारीले भने, डीआइजी सरुवामा पनि उनले मनोज न्यौपाने जस्तालाई गरेपछि उनी प्रकाश अर्यालभन्दा पनि कमजोर हुने लक्षण देखिएको चर्चा हेडक्वाटरमा हुन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७