मिटरमा नकुद्ने ट्याक्सीमाथि धमाधम कार्वाही


४ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं, ४ जेठ । महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कार्बाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो ।

ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले-नचलेको जाँच गरिएको परिसरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताएका छन् । उनले भने, ‘हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर नराख्नेलाई धमाधम कार्बाही पनि गरिरहेका छौं ।’

ट्राफिक प्रहरीले यसअघि ट्याक्सी रोक्ने ठाउँमा अनुगमन गर्दै आएको प्रहरी निरीक्षक हाछेथुले बताए । यसअघि सिभिल ड्रेसका ट्राफिक प्रहरीले यात्रु बनेर छड्के जाँच गर्दा दोषी देखिएकालाई कार्बाही गर्दै आएको थियो । ट्राफिक प्रहरीको हाउभाउ र उनीहरूलाई सडकमा देखिरहेकाले चालकले चिन्ने गर्दथे । अहिले गुडिरहेको ठाउँमा कार्बाही थालिएको हो ।

उनले भने, ‘अहिले हामीले गरेको कार्बाही यात्रु आफैंले पनि देख्नु हुन्छ ।’ ट्राफिक प्रहरीले भनेको ठाउँमा जान नमान्ने चालकलाई समेत कार्वाही गर्दै आएको छ । चालकले काठमाडौंँमा नयाँ यात्रु हो भन्ने चिन्दा मिटरमा नजाने र बढी भाडा लिने गरेको नियमित अनुगमनका क्रममा पाइएको जानकारी दिँदै प्रहरी निरीक्षक हाछेथुले भने, ‘यो ठाउँ कहाँ पर्छ भन्ना साथ चालकले यात्रु नयाँ भन्ने चिन्ने र उनीहरुलाई बढी ठगेको पाइयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७