कोशी प्रदेशको विवाद ‘हेर्दाहेर्दै’ मा, बिहीबार जवाफी बहस

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुुनुवाइ आज (मंगलबार) पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङविरुद्धको रिटबारे सुनुवाइ भएको हो ।
सर्वोच्चको पूर्ण इजलासमा भएको सुनुवाइमा सोमबार मुख्यमन्त्री उद्धव थापासहितका प्रतिवादीको तर्फबाट बहस भएको छ । यसअघि सोमबार निवेदकको तर्फबाट हिक्मत कार्की पक्षले बहस गरेको थियो । पूर्ण इजलासमा सोमबारदेखि बहस अघि बढे पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । निवेदक र प्रतिवादीको बहसपछि आगामी बिहीबार जवाफी बहस हुने बताइएको छ । सोही दिन आदेश आउने सम्भावना छ ।
उक्त रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो । त्यही अनुसार सोमबार पूर्ण इजलासमा बहस अघि बढेको हो । न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो ।