खुकुरी प्रहार गरिएका कांग्रेस सहमहामन्त्री यादवलाई आइसियुमा राखेर उपचार गरिंदै


२० भाद्र २०८०, बुधबार
mahendra yadav

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवलाई ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ ।

आज (बुधबार) साँझ साढे ५ बजे एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. ब्रदी रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी गराएका छन् । उनका अनुसार सवा २ बजे अस्पतालमा लगिएको थियो । उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो । जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा. रिजालले बताएका छन् । सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको पनि उनले बताए ।

‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरी-अथोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । त्यसपछि उनलाई आइसियुमा राखिएको हो । उनको स्वास्थ्य अवस्था स्थिर रहेको पनि अस्पतालले जनाएको छ ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा सहभागी बाहिर निस्किँदै गर्दा नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । सहमहामन्त्री यादवलाई कार्यकर्ताहरूले गाडीमा हालेर अस्पताल पुर्‍याएका थिए । यता प्रहरीले सापकोटालाई तत्कालै पक्राउ गरेको हो । प्रहरीले उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर अनुसन्धान गरिरहेको छ । उनले नेताहरुले केहि नगरेकाले रिस उठेर खुकुरी प्रहार गरेको बयान दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७