दक्षिण एशियामा गरिबी निवारण परियोजना ल्याउन चीनलाई एमाले महासचिवको आग्रह


२२ भाद्र २०८०, शुक्रबार
vet

बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरुलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एशियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिएका छन् ।

विश्व र दक्षिण एशियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्दै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिएका हुन् । बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरुले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गरे ।

vet 1

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरु तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिंदै चिनियाँ उद्योगीहरुलाई नेपालमा लगानीका लागि आग्रह पनि गरे ।
महासचिव पोखरेलले चिनियाँ कम्युनष्टि पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक रुपमा अघि बढेको देख्दा खुशी लागेको बताएका छन् । उनले भने, ‘महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ ।’

उनले नेकपा (एमाले) ले पनि मार्क्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिंदै चिनियाँ कम्युनिष्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिए । उनले भने, ‘दुबै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरुरी छ । त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ ।’

महासचिव पोखरेलले नेकपा (एमाले) लाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको जानकारी दिए । उनले आगामी २०८४ सालमा नेकपा (एमाले) लाई बहुमतसहितको पार्टी निर्माणको योजनासहित काम गरिरहेको बताएका थिए । कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एशिया व्युरोका डाइरेक्टर जनरल पिङसिउपिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारिताको साथ गहिरो सम्बन्ध जारी राख्ने बताए ।

उनले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताएका थिए । उनले भने, ‘महासचिव ज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ । त्यसको अनुभूति तपाईहरुले गर्नुभयो भन्ने हाम्रो विश्वास छ ।’ नेता सिउपिनले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रुपमा एमालेलाई पाएको समेत बताए । उनले दुई पार्टीबीचको अनुभव र विचार नियमित रुपमा आदनप्रदानमा जोड दिए ।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरी भ्रमण दल विहीबार साझ छोङछिङबाट बेइजिङ आइपुगेको हो । छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरुसँग भेट गरेका थिए । बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७