उत्कृष्ट खेलाडीमा रोनाल्डोले लुका मोड्रिकलाई दिए भोट, कप्तान विराजले कसलाई दिए भोट ?


७ कार्तिक २०७४, मंगलवार
Biraj Maharjan

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि पार्दै लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड जितेका छन् । उत्कृष्ट खेलाडी बनेका रोनाल्डोले भने उत्कृष्ट खेलाडीमा क्रोयसियाका रियल मड्रिड खेलाडी लुका मोड्रिकलाई भोट दिएका थिए । यस्तै लुका मोड्रिकले उत्कृष्ट खेलाडीको भोट क्रिष्टियानो रोनाल्डोलाई दिएका थिए ।
लियोनल मेस्सीले उत्कृष्ट खेलाडीमा उरुग्वेका बार्सिलोना स्ट्राइकर लुइस स्वारेजलाई छानेका छन् । उनले दोस्रोमा आन्द्रेइस इनिष्टा र तेस्रोमा नेइमारलाई रोजे ।
अवार्डका लागि फिफा आबद्ध देशका खेलाडी, प्रशिक्षक र मिडियाको एकजनाले भोट दिन पाउँछन् । फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा पोहोरदेखि उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।

 विराज महर्जनले स्वीडेनका जाल्टन इब्राहिमोविचलाई भोट
अवार्डमा नेपालका कप्तान विराज महर्जनले स्वीडेनका जाल्टन इब्राहिमोविचलाई भोट दिएका छन् । उनल दोस्रोमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र तेस्रोमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई छानेका छन् ।

Biraj Maharjan
यस्तै नेपालका प्रशिक्षक ग्योटोकु कोजीले पहिलोमा क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई भोट दिए । नेपाली मिडियाको तर्फबाट काठमाडौं पोष्टका रितेश रिजालले क्रिष्टियानो रोनाल्डोलाई भोट दिएका छन् । उनले दोस्रोमा लियोनल मेस्सी र तेस्रोमा नेइमारलाई नै छाने ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि रोनाल्डोले नै पाएका थिए । ३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड पाएका छन् । साथै बार्सिलोनाकी लिके मार्टेन्सले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७