कोशी सरकार गठनमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।
आज (आइतबार) सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा बोल्दै ज्ञवालीले कोशी प्रदेशमा पहिलादेखि नै कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्नुपर्छ भनेको बताए । सत्तापक्षले प्रदेशसभाको ठूलो पार्टीलाई निषेध गरी संविधान मिचेको उनको भनाइ थियो ।
‘हामीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल गरिरहेका छौँ । त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔं’, ज्ञवालीले भने, ‘उहाँहरूले निषेध गर्ने कोशिस गर्नुभयो । त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ ।’
अब पनि त्यही बाटोमा गए प्रदेशप्रतिको वितृष्णा बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति हुने उनको भनाइ थियो । ‘त्यसले या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ’, उनले भने, ‘जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली कांग्रेसले जिम्मेवार भूमिका खेलोस् ।’ यसका लागि आफूहरू प्रारम्भिक चरणको कुराकानीमा रहेको उपमहासचिव ज्ञवालीको भनाइ थियो ।