राप्रपाले आज काठमाडौंमा विरोध सभा गर्दै

काठमाडौं । राप्रपाले आज (बुधबार) काठमाडौंमा बृहत् विरोध सभा गर्ने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १२ बजेपश्चात बृहत जनसभाको आयोजना गर्न लागेको हो । विरोध सभामा सहभागि हुने देशका विभिन्न स्थानबाट नेता कार्यकर्ता काठमाडौंमा आइपुगेका छन् ।
भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबाब दिनका लागि विरोध सभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ । गौवंश हत्याको विरोध, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि राप्रपाले जानकारी दिएको छ ।
देशद्रोहीविरुद्ध आन्दोलन स्वरुप राप्रपाले विरोध सभा गर्न लागेको राप्रपा नेता ज्ञानेन्द्र शाहीले जानकारी दिए। शाहीले विभिन्न प्रकरणको अनुसन्धान नेताहरूमाथि आए पनि प्रकरणलाई नै कमजोर बनाउन खोजिएको उल्लेख गरे । विरोध सभा गर्ने जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा उनले बालुवाटार प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई पक्राउ नगरेसम्म सडक आन्दोलन गर्ने बताए । राप्रपाले शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासीनता, बढ्दो बेरोजगारी, मूल्यवृद्धि जस्ता विषयमा गम्भीर बन्नका लागि सरकारलाई दबाब सिर्जना गर्न विरोधसभा गर्न लागिएको जनाएको छ ।