सी चिनपिङ माओपछिका शक्तिशाली नेता, अब ‘सी चिनपिङ वाद’


प्रकाशित मिति : October 24, 2017

काठमाडाैं : चिनियाँ कम्युनिष्ट पार्टीको जारी सम्मेलनले राष्टपति सी चिनफिङको विचारलाई विधानमै ‘सी चिनफिङ वाद’ का रूपमा ग्रहण गर्ने भएको छ। चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सी जिनपिङको बिचारधारालाई संविधानमा समावेश गर्ने निर्णय गरेको हो ।

संविधानमा जिनपिङलाई चीनका पहिलो कम्युनिष्ट नेता तथा संस्थापक माओत्से तुंङ समान स्थान दिइएको हो । माओत्से तुङ र देंङ जियाओपिङको विचार मात्रै पार्टी संविधानमा समावेश गरिएको छ । अव चीनमा बालबालिका, क्याम्पसमा अध्ययनरत छात्र–छात्रा, सरकारी कर्मचारी गरेर ९ करोड कम्युनिष्ट पार्टीका सदस्यले ‘सी जिनपिङ सोच’ पढ्नेछन् । कम्युनिष्ट पार्टीले यस नयाँ युगलाई आधुनिक चीनको तेस्रो चरणको संज्ञा दिएका छन् ।

संविधानमा ‘शी जिनपिङको सोच’ लेख्ने पक्षमा सवसम्मतिले मतदान गरिएको बीबीसीले जनाएको छ । यसले चिनियाँ कम्युनिष्ट पार्टीमाथि राष्ट्रपति सीकोे पकडलाई संविधानमै संस्थागत गरिदिएको छ। बेईजिङमा बन्द सभाहलमा आयोजित सम्मेलनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागि छन् । आगामी पाँच वर्षका देशको कमान सम्हाल्ने व्यक्ति चयन गर्ने यो चीनको सबैभन्दा महत्वपूर्ण राजनीतिक बैठक हो ।

माओपछि पनि चिनियाँ नेताहरूले आफ्ना विचारहरूलाई कम्युनिष्ट पार्टीको विधानमा राखेका थिए। तर माओपछि कसैको पनि विचारले ‘वाद’ रूप ग्रहण गरेको थिएन। ‘सि चिनफिङ वाद’ भनेर पार्टी विधानमै लेखिएपछि अब चीनमा कसैले पनि उनको विरोध गर्ने वा उनलाई चुनौती दिन नसक्ने बीबीसीकी चीन सम्पादक केरी ग्रेसीले टिप्पणी गरेकी छिन्।

प्रत्येक पाँच वर्षमा हुने चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलन भोलि सम्पन्न हुँदैछ। हप्ता दिन अगाडि सुरु भएको पार्टीको शक्तिशाली सम्मेलनलाई तीन घन्टा लामो सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्