कुशे औँसी तथा बाबुको मुख हेर्ने : गोकर्णेश्वरमा दर्शनार्थीको घुइँचो (तस्वीरहरु)


२८ भाद्र २०८०, बिहीबार
Gokerneshow 2 scaled

काठमाडौं । वैदिक सनातन हिन्दु परम्पराअनुसार प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन कुश घरमा भित्र्याउने तथा बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र मुख हेर्ने चलन रहिआएको छ । पिता नहुनेहरू विभिन्न पवित्र ठाउँमा गएर तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिधा दान गर्छन् ।

हिन्दु धर्मावलम्बीले आज वर्षभरि गरिने देवकार्य एवं पितृकार्यका लागि आवश्यक पर्ने कुश घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राह्मणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

हिन्दु धर्मावलम्बी कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको स्वरूप मानेर पूजा गर्ने गर्छन् । आज कुशको पूजाआजा गरी छेदन गरेर घरघरमा भित्र्याइने दिन भएकाले वर्षभरिका १२ औँसीमध्ये आजको औँसीलाई कुशे औँसी भन्ने गरिएको हो । परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अब्बल शिष्य मानिन्थ्यो भन्ने किंवदन्ती छ ।

कुशे औँसीलाई बुबाको मुख हेर्ने दिनको रूपमा पनि मनाइन्छ । कुशे औँसीका दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा मेला लाग्ने गर्छ । विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसीका रूपमा पनि चिनिन्छ । गोकर्णेश्वरसहित महादेव र रसुवाको वेत्रावतीमा आआफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिधा दान गर्नेहरूको ठूलो घुइँचो लागेको छ ।

धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिधा दान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने कुरा धर्मग्रन्थमा उल्लेख छ ।

Gokerneshow 1
Gokerneshow 2
Gokerneshow 3
Gokerneshow 4
Gokerneshow 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७