हेटौँडा अस्पतालका ७८ स्वास्थ्यकर्मीको राजीनामा, आकस्मिक बाहेक सबै सेवा बन्द


२९ भाद्र २०८०, शुक्रबार
hetauda hospital

मकवानपुर । हेटौँडा अस्पतालका डाक्टरसहित ७८ स्वास्थ्यकर्मीले सामुहिक राजीनामा दिएका छन् । बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त बिडारीलाई कुटपिट गर्नेलाई कारबाही माग गर्दै उनीहरुले सामुहिक राजीनामा दिइएको हेटौँडा अस्पतालका बाल रोग विशेषज्ञ डा. हरि खड्काले जानकारी दिए ।

हेटौँडाका सम्पूर्ण स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गरेका छन् । चिकित्सक कुटपिटको विरोधमा हेटौँडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै हेटौँडाका चिकित्सकहरूले अस्पताल तथा निजी क्लिनिकहरूको आकस्मिक बाहेक सबै सेवा बन्द गएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

उनका अनुसार हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवा सञ्चालनमा रहेको छ भने ओपिडी, बिरामी भर्न, ल्याब लगायतका सेवा बन्द रहेको छ । चिकित्सकहरूले असुरक्षित महसुस गर्दै काम गर्न नसक्ने बताएपछि सेवा प्रवाह बन्द भएको उनले बताएका छन् । हेटौँडा अस्पतालका ७८ चिकित्सकले कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै सामुहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेसु सापकोटालाई बुझाएका हुन् । मेसु सापकोटाको हस्ताक्षरसहित सो पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाउने तयारी रहेको छ । यद्यपि सो पत्र अझैसम्म प्रमुख जिल्ला अधिकार समक्ष नपठाएको मेसु सापकोटाले बताए । समय र परिस्थिति अनुसार राजीनामा पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइने उनले बताए ।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । आक्रमणमा परी एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् । बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ ।

एक महिनाअघि मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७