के हो लोकतन्त्र, खतरा कहाँबाट, कोबाट ?


७ कार्तिक २०७४, मंगलवार
22852227 10212971887604333 8874439777144237904 n

केही साता यता नेपाली राजनीतिमा एउटा शब्द चल्तीमा आएको छ । त्यो शब्द हो, ‘लोकतन्त्र’ । दुई बामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेलको घोषणा गरे लगत्तै राजनीतिक बजारमा लोकतन्त्रको ‘मुल्य’ बढाइएको हो । यसको सेयर उकालो लागेको हो । खासगरी बामपन्थी इतरका नेता, बिश्लेषक र लेखकहरुले लेख्न र बोल्न थालेका छन्,‘ लौ, लोकतन्त्रमाथि ह्रवातै खतरा बढ्यो ।’ उनीहरुको दलिल छ, ‘कांग्रेस र माओवादी केन्द्रको सहकार्य छदासम्म सुरक्षित रहेको लोकतन्त्र एमाले र माओवादी मिल्न साथ भंयङ्कर खतरामा परिसकेको छ ।’ नेताहरुले मात्रै कहाँ हो र ? आफूलाई स्वतन्त्र र व्यवसायिक भनेर दाबी गर्ने नाम चलेका लेखकहरुले समेत बढो याचनाको भाषामा लेख्न थालेका छन्,‘लोकतन्त्र धरापमा परीसक्यो । नेपालका लोकतन्त्रवादीहरु छिटो एक हुनुहोस्ं ।’ उनीहरु बुझाईमा हामी कहाँको लोकतन्त्र यस्तो हो, ‘जो कांग्रेस–माओवादीको गठबन्धन हुदा सुरक्षित रहन्छ, एमाले–माओवादीको तालमेल हुदा खतरामा पर्छ ।’

Rajesh Rai

लोकतन्त्र भनेको के हो ? नेपाली बृहत शब्दकोश भन्छ, ‘बहुसंख्यक जनताद्धारा छानिएका प्रतिनिधिहरुको सम्मतिअनुसार कुनै देशको शासनव्यवस्था चल्ने र नीति निर्धारण आदि हुने शासन प्रणाली नै लोकतन्त्र हो ।’ हामी कहाँको लोकतन्त्र, यसको इतिहास र अभ्यास आफ्नै छ । हामीले अहिले शब्दको परिभाषा भन्दा पनि यसको इतिहास र अभ्यास पल्टाउनु जरुरी छ । लोकतन्त्रको लागि कहिले को लड्यो ? कुन पार्टीले पार्टी भित्र र बाहिर कस्तो अभ्यास गरिररहेको छ ? हाम्रो विगत घामजस्तै छरलङ्ग छ ।

देश अहिले चुनावमा होमिएको छ । दल र तिनका उम्मेदवारहरु आफ्ना अजेन्डा सहित जनताको बिचमा जाने क्रम सुरु भएको छ । तिनका आफ्ना दलिल, सपना र योजना बताइरहेका छन् । तर, कांग्रेसका नेताहरुको चहि अहिलेको मुख्य अजेन्डा नै लोकतन्त्रको रक्षा जसरी प्रस्तुत भइरहेका छन् । किन कांग्रेसलाई जिताउने ? ‘लोकतन्त्र खतरामा परेको छ,’ कांग्रेसका नेताहरुको उत्तर छ,‘लोकतन्त्रलाई बचाउन यसपाली कांग्रेसलाई मत दिनुहोस् ।’ नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवा र कांग्रेसका नेताहरुले यसो भन्नुको उद्देश्य स्पष्ट नै छ । तर, हामी कहाँका स्वतन्त्र र व्यवसायिकहरुले समेत यसो किन भनिरहेका छन् ? तिनले किन खतरा देखिरहेका छन् ? यो चहि बहसको बिषय हो । कांग्रेस–माओवादीको गठबन्धन हुदा सुरक्षित देख्नेहरुले एमाले–माओवादीको तालमेलमा किन खतरा देख्छन् ? तिनको उद्देश्य के हो ?

 

कस्तो कब्जा, कसको कब्जा ?
बामपन्थी इतरकाहरुले भनिरहेका छन्,‘अब एमाले र माओवादीले राज्यसत्ता कब्जा गर्छ ।’ एमाले र माओवादीले राज्य सत्ता कब्जा गर्छ या गर्दैन ? यदि गरि हाले के हुन्छ ? त्यसको बहस गर्न अघि अहिलेको राज्य सत्ता कस्तो छ ? यो बिषयमा बहस जरुरी छ । यो मुलुकको राज्य सत्ता आजसम्म उनीहरुले नै चलाएका छन्, जसले लोकतन्त्र खतरामा देखिरहेका छन् । ०४६ सालयता आजसम्म कांग्रेसले यो मुलुकको १२ पटक नेतृत्व गरिसकेको छ । अहिले पनि गरिरहेको छ । गणितमा हेर्ने हो भने नेपाली कांग्रेसले १२ औं पटक गरेर ५७ सय ४ (६ कार्तिक२०७४सम्म) दिन यो मुलुकको नेतृत्व गरेको छ । एमालेले ४ पटक गरेर १४ सय १२ दिन मुलुकको नेतृत्व गरेको छ । माओवादीले ३ पटक गरेर ११ सय २१ दिन यो मुलुकको नेतृत्व गरेको छ । राप्रपाले ४ पटक गरेर एक हजार दिन नेतृत्व गरेको छ । दरबारले २ पटक गरेर ४ सय ५५ दिन नेतृत्व गरेको छ । अन्यले १ पटक ३ सय २४ दिन नेतृत्व गरिसकेको छ ।

०४६ साल यताको अधिकांस समय नेपाली कांग्रेसले यो मुलुकको नेतृत्व गरेको छ । यसबिचमा कांग्रेसले गरेको लोकतन्त्रको अभ्यासको फेहरिस्त उल्लेख सम्भव छैन । तर, पछिल्ला केही घटनाहरुलाई हेर्दा यो मुलुकको सत्ता लगभग कब्जाको अवस्थामा नै छ । सपाट भाषामा भन्दा मुलुक भ्रष्ट र दलालहरुको कब्जामा छ । तिनको मतियार बनेका छन्, यो मुलुकको सर्बाधिक समय नेतृत्व गर्ने नै छन् । देश संबिधान अनुसार होइन ‘सेटिङ्ग’ अनुसार चलिरहेको छ । हामी कहाँका न्याय, प्रहरी, प्रशासन शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबै सबै तिनै ‘सेटिङ्ग’कर्ताहरुको कब्जाको अवस्था छ । यो देश त्यही देश हो, जहाँ निष्ठापूर्वक मुलुकको सेवा गर्ने नवराज सिलवालहरुलाई अपमानपूर्वक गलहत्याइन्छन् । न्यायको प्रतिमुर्ति सुशीला काकीमाथि महाअभियोग लाग्छ । तर, करोडौ भ्रष्टचार गर्ने गोपाल खड्का, चुडामणि शर्माहरुलाई अदालतले असल भन्छ । सर्वोच्च अदातलको आँगन फुलमाला र अबिरजात्रा गरिन्छ । नवराज र सुशिलाहरुले निष्ठाका साथ काम गरे बापत्त राज्यबाट अपमानित बन्नुपर्छ । राज्यलाई लुग मच्चाउने गोपाल खड्का, चुडामणि शर्माहरु सम्मानित हुन्छन् । न्यायलाय, प्रहरी र प्रशासन सबै कब्जाको अवस्थामा छ । अदालतमा न्याय पाइन्छ भन्ने कुरा त मिथक जस्तै बनिसक्यो भन्दा फरक प्रदैन । न्याय पाउने होइन किनिने भएको छ । प्रहरी र प्रशासन पनि उस्तै छ । सबैतिर सेटिङ छ । कांग्रेस–माओवादीको गठबन्धन हुदा सुरक्षित रहेन एमाले–माओवादीको तालमेल हुदा खतरामा देख्नेहरुको लोकतन्त्र यही हो ।

खतराकोबाट ?
प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले यतिबेला हरेक दिन जसो भन्छन्,‘लोकतन्त्र खतरामा छ ।’ लोकतन्त्रमाथि खतरा देख्ने देउवाको विगत यो बेला कोट्उन सायद उचित होला । ०५९ संसद् विघटन गरेर प्रजातन्त्र राजालाई बुझाएपछि सत्ताबाट हटेका देउवा २३ जेठ २०७४ मा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भए । देउवा यसअघि तीन पटक कसरी प्रधानमन्त्री भए ? उनी प्रधानमन्त्री भएको बेला मुलुकले के–के भोग्नु प¥यो ? विगत असाध्यै धमिलो छ, अमिलो लाग्छ । संसदीय राजनीतिलाई भ्रष्ट र विकृत बनाउनमा देउवाको योगदान सबैभन्दा बेसी छ भन्दा उनीप्रति अन्याय हुनेछैन । देउवाले के गरेनन् ? वा उनको पालामा के भएन ? यहाँ त्यो लेख्दा निकै लामो हुन्छ । यति भन्न सकिएला, सत्ताको लागि नेपालको संसदमा किनबेचको संस्कृति उनलै भित्राए । केवल सत्ताका लागि कांग्रेस फुटाए । दरबारलाई प्रजातन्त्र बुझाए । सत्ताको लागि विदेशीहरुलाई हस्तक्षेपको लागि आमन्त्रण गर्ने पनि उनै हुन् । स्वार्थको लागि स्वातन्त्र न्यायलयमाथि आक्रमणको नेतृत्वकर्ता पनि उनै हुन् ।

यी देउवा
२५ फागुन ०७२, देउवा कांग्रेसको सभापति निर्वाचत हुदै गर्दा उनीप्रति अवश्य पनि कार्यकर्ताहरुको धेरै अपेक्षा थिए । कोइराला विरासतको कांग्रेसमा देउवामा आउदै गर्दा एउटा परिवारबाट कांग्रेस निस्किएको विश्लेषण हुदै थियो । तर, यस अवधिमा जे गतिबिधि भए, जे गरिए कांग्रेसकै नेताहरुले भन्न थालेका छन्, कांग्रेस बूढानीलकण्ठ दरबारभित्र छिर्यो । कांग्रेसको लोकतन्त्र बूढानीलकण्ठ दरबार भित्र कैद भएर बस्न अभिसप्त छ । यी देउवा तिनै देउवा हुन् जसले गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई कोइरालाकरण गरेको भन्दै पार्टी फुटाए । तर, सभापति भएको बर्षदिन बित्दा मात्रै कांग्रेसको लोकतन्त्र बूढानीलकण्ठ दरबार भित्र छिरेको निकष्र्षमा पुगेका छन्, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर । कांग्रेसका नेताहरुका अनुसार पत्नी आरजु राणाले खुलेआम दलाली गर्छिन् । मोलतोल तोक्छिन् । पार्टीभित्रको योगदान, मुल्य मान्यता र आर्दश विस्तारै मिथक बनिरहेको अनुभुती कांग्रेस कार्यकर्ताहरुले गरिरहेका छन् । पछिल्लो समयमा भएका निर्णय र गरिएका नियुत्तीहरु हेर्ने हो भने ती केन्द्रीय सदस्यको भनाई प्रमाणित हुन्छ । ‘ओपन सेक्रेट’ जस्तै छ । मन्त्रिको नियुक्ति, राजदुत नियुक्ती, प्रहरी महानिरीक्षक नियुक्ती, सरुवा–बढुवा यी सबैमा बूढानीलकण्ठ दरबारले गरेको सिधा हस्तक्षेपको फेहरिस्त हेर्दा जो कोही कांग्रेसीलाई सभापति देउवाको कार्यकर्ता भएकोमा हिनताबोध भएको हुनुपर्छ ।

यही कांग्रेस जो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्की विरुद्ध २ कात्तिक ०७३ मा संसदमा महाभियोग दर्ता हुँदा बोलेन । बरु, यो वा त्यो कोणबाट असन्तोष प्रकट ग¥यो । लोकमानविरुद्धको महाभियोग प्रस्ताव कांग्रेसकै कारण अघि बढेन । त्यत्तिकै तुहियो । प्रधानन्यायाधीश सुशीला कार्कीले लोकमानलाई पदमुक्त नगरीदिएको भए सायद के हुन्थ्यो ? भन्न सकिने अवस्था थिएन । कसै–कतैको दबाब खेप्न नसकेर सम्भवतः कांग्रेसले लोकमानलाई बचाउथ्यो । किनभने, देउवा भारतको आदेशलाई इन्कार गरेर जाने अवस्थामा थिएन । छैन ।

लोकतान्त्रिक मुल्य, मान्यता र कानुनी राज्यको कांग्रेसको आर्दश हो । तर, लोकमान विरुद्ध नउभिएको कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग लगाउने कामको अगुवाई गरे । स्वतन्त्र न्यायपालिकामाथि औला उठाएन स्वतन्त्र न्यायलयमा नयाँ कोतपर्व मच्चाउने असफल प्रयास गरे । खुल्ला खुलस्तै छ, प्रधानन्यायाधीश कार्कीले आफ्नो अनुकुल काम नगरीदिएकै कारण कांग्रेस विरुद्धमा उभियो । प्रहरीभित्र तेस्रो वरीयताक्रममा रहेका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने स्वार्थ र चाहनालाई सर्वोच्च अदालतले रोकिदिएकै कारण प्रधानन्यायाधीश कार्की विरुद्ध उभियो कांग्रेस । यो कार्की विरुद्धको होइन लोकतान्त्रिक मूल्य, मान्यता र आर्दश विरुद्धको महाअभियोग थियो । आज कांग्रेसलाई इतिहासले जरुर प्रश्न सोधिरहेको छ, यो कस्तो कांग्रेस हो ? लोकतान्त्रिक मुल्य, मान्यता र आदर्श कांग्रेसले किन भुल्दैछ ?

खतराकोबाट ?
जतिबेला कांग्रेसले शुशिला कार्कीमाथि महाअभियोग लगाउदै थियो । कांग्रेसप्रति सहनुभुति राख्ने सैयौं बुद्धिजिविहरुले, कांग्रेसकै हजारौं कार्यकर्ताहरुले सोधेका थिए ,‘कहाँ छ कांग्रेस ?’ प्रदीप गिरी, कृष्ण खनाल कृष्ण पहाडी, केदारभक्त माथेमा, डा. गोबिन्द केसी देखी निलाम्बर आचार्यसम्मले कांग्रेसले लोकतन्त्रको आर्दश, मुल्य मान्यता भुलेको भन्दै दुःख व्यक्त गरेका थिए । लोकतन्त्रमाथि उनीहरुबाटै खतरा छ, जो अहिले लोकतन्त्रमाथि खतरा छ भनिरहेका छन् । राज्यलाई ‘सेटिङ्ग’मा चलाइरहेकाहरुले लोकतन्त्रको चिरहरण गरेको छ । ‘सेटिङ्ग’कर्ताहरुको कब्जामा छ, राज्यसत्ता । हो, त्यही कब्जाबाट मुलुकलाई मुत्ती दिन नेपालीजनहरुले विवेक गर्ने बेला आएको छ ।

लेखकलाई पछ्याउन :-
https://twitter.com/Rajsh55

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७