अझै २० वर्ष राजनीतिमा सक्रिय रहन्छु : अध्यक्ष ओली (तस्वीरहरु)

‘जीवनमा मैले धेरै दुःख पाएँ, तपाईहरु कसैको पनि मेरो जस्तो कष्टपूर्ण जीवन हुँदै नहोस्’


३० भाद्र २०८०, शनिबार
bal dibas with oli5

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै २० वर्ष आफू राजनीतिमा सक्रिय रहने बताएका छन् । आज (शनिबार) बासँग बालबालिका कार्यक्रममा बोल्दै ओलीले अझै २० वर्षसम्म आफू राजनीतिमा सक्रिय रहने बताएका हुन् ।

उनले आफू सक्रिय रहँदारहँदै योग्य व्यक्ति आए पार्टीको नेतृत्व सुम्पिएर देश चलाउन जिम्मा दिने बताए । ‘म २० वर्ष सक्रिय रहन्छु भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन । आफू सक्रिय रहेकै वेला योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्छु’, उनले भने । उनले सरकारले हिंसात्मक घटनालाई प्रोत्साहन गरिरहेको आरोप लगाए । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि कुटपिट गर्नेलाई सरकारले संरक्षण गरेको भन्दै अहिलेको सरकार शासक बनेको समेत आरोप लगाए ।

कार्यक्रममा केही बालबालिकाले एमाले अध्यक्ष केपी ओलीलाई प्रश्न सोधे– तपाई आफूलाई कति अब्बल राजनीतिज्ञ मान्नु हुन्छ ? तपाईको देशभक्ति जस्तै सफलताको कुरा के हो ?

जवाफमा ओलीले आम राजनीतिज्ञभन्दा फरक शैलीमा आफू अब्बल राजनीतिज्ञ नभएको भन्दै आफ्ना केही असफलता सुनाए । नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न नसक्नु अहिलेसम्म पनि आफ्नो असफलता रहेको ओलीले सुनाए । ओलीले अब्बल राजनीतिज्ञ नेपाली राजनीतिमा अहिले नरहेको भन्दै त्यस्तो व्यक्ति अब बालबालिकाबाट निस्किनु पर्ने बताए । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृति मोडरेटर बनेर ओलीसँग प्रश्नको संयोजन गरिरहेकी थिइन् । विभिन्न क्षेत्रका बालवालिकाले ओलीलाई राजनीति र राजनीति बाहिरका प्रश्न गरेका थिए ।

तीमध्ये एउटा प्रश्नमा ओलीको जवाफ

म आफूलाई अब्बल राजनीतिज्ञ त मान्दिन । पूर्व प्रधानमन्त्री चाहिँ भकै हुँ । अब्बल राजनीतिज्ञ अब तपाईहरुबाट जन्मिनु पर्छ । हामीभन्दा तपाईहरु बढी देशभक्त, विकास प्रेमी, क्लिन, भिजनरी, कर्मठ र क्रियाशील हुनुहुन्छ । त्यस्ता नेताका रुपमा सफल नेताका रुपमा तपाईहरु आउनु पर्छ । मेरा केही असफलताहरु छन् । मैले नेपालविरुद्धको षडयन्त्रलाई पराजित गर्न सकिरहेको छैन । तपाईहरुले ती षडयन्त्रलाई पराजित गर्नुपर्छ र नेपालाई साँच्चीकैको सार्वभौम, स्वतन्त्र र साँच्चैको स्वाधीन आफ्नो भूगोलको रक्षा गर्न सक्ने र राष्टिय हितको रक्षा गर्न सक्ने, राष्ट्रिय स्वाभिमानको झण्डा माथि उठाउन सक्ने हुनुपर्छ । त्यसकारण अब्बल राजनीतिज्ञ त आफूलाई भन्न सक्दिन, यति चाहिँ हो म इमानका साथ काम गर्छु । देश र जनतालाई माया गर्छु । राष्ट्रको सम्पत्ति कुनै हिसाबले पनि धुत्र्याई, छलकपटले सार्वजनिक सम्पत्ति आफ्नो बनाउन हुँदैन भन्ने मान्यता राख्छु ।

म एउटा सामान्य बालक थिएँ । एकदमै सामान्य बालक । पहाड दुर्गम गाउँको मान्छे । हाम्रोतिर बच्चादेखि नै काम सिक्ने चलन थियो । मैले पनि बच्चादेखि नै थुप्रै काम सिकेँ । घरका कामहरु मलाई सबै आउँछन् । तरकारी केलाउनदेखि लिएर घर सफा गर्नेदेखि कपडा धुनेदेखि सबै कुरा आउँछ । घाँस दाउरा, हलो कोदालो, खेत रोपेर आएको हुँ । मलाई जे पनि सिक्न मन लाग्छ ।

मेरी आमा सानैमा म तीन वर्षको हुँदै बित्नु भयो । मेरो बाल्यकाल हजुरआमासँग धेरै बित्यो । मेरी हजुरआमाले जे काम गर्नु हुन्थ्यो ती काम मैले पनि गरेँ । मैले हलो कोदालो गरेँ । मेरो जीवनमा मैले धेरै दुःख पाएँ । तपाईहरु कसैको पनि मेरो जस्तो कष्टपूर्ण जीवन हुँदै नहोस् । जेलमा निर्मम् यातना दिएर काठको तुर्लुङमा खुट्टा राख्दा भतभति पोल्थ्यो । खाने बेला कुटाइ पाइन्थ्यो । १४ वर्ष जेल बस्दा २५ पटक जेल सारियो । यातनाको कुनै सीमा थिएन । मसँग त्यसबेला दुःख सहने कि मर्ने भन्ने दुई विकल्प थिए । मैले धैर्य गुमाइन किनकी मेरो उद्देश्य महान थियो । त्यसैले जस्तासुकै परिस्थिति पनि भोग्न तयार थिएँ ।

KP oli
KP oli R3WPoRDXb3
KP JDFYQB9GUU
bal dibas with oli6
bal dibas with oli9
bal dibas with oli8
bal dibas with oli3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७