काठमाडौं ल्याउँदै गरेको दुई हजार किलो माछा चितवनमा गरियो नष्ट


१ आश्विन २०८०, सोमबार
KA Bharatpur IMG 9975 scaled

चितवन । चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिए । ‘बिलमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन’, उनले भने, ‘भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ ।’ अवैधरूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् ।

लु ३ च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौँतर्फ लैजान लागिएको थियो । जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले जानकारी दिए । सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उनले बताए । ‘भौतिकरूपमा हेर्दा माछामा गन्ध आएको छ’, उनले भने, ‘अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ ।’ अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उनले बताए । नष्ट गरेको माछाको बजार मूल्य रु तीन लाख २० हजारसम्म रहेको गौतमले जानकारी दिए । तर बिलमा रु एक लाख ६० हजारमात्र लेखिएको छ ।

मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताए । उनले १० महिनाको अवधिमा चितवनमा मात्रै चारपटक अवैधरूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिए । बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार नियमानुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यात समेत हुने गरेको छ । यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७